समाज


भक्तपुरमा परिवारै संक्रमित, आमापछि छोराको मृत्यु, बाँकी ६ सदस्य विचलित

भक्तपुरमा परिवारै संक्रमित, आमापछि छोराको मृत्यु, बाँकी ६ सदस्य विचलित

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:०,

कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन्।

यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको मंगलबार राति मृत्यु भएको हो। छोराबाट आमामा सङ्क्रमण सरेको आशङ्का गरिएको छ।

श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पीसीआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि त्यही अस्पताल आमाको १३ गते र छोराको १६ गते राति मृत्यु भएको उनले जानकारी दिए।

आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ।

मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसनमै बसेका छन्।

नगरप्रमुख श्रेष्ठले भने, ‘आज स्वास्थ्य टोली लिएर म घरमै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ।’

सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उनले बताए।

भक्तपुर जिल्लामा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad