देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’बाट कोभिड १९ संक्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञहरुले प्रश्न उठाएका छन्।
सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड १९ संक्रमणमा परेका बिरामीहरुलाई ‘प्लाज्मा थेरापी’बाट उपचार गरिरहेको छ। तर प्लाज्माको उपचार विधि सम्बन्धमा विशेषज्ञहरुले भने प्रश्न उठाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सिफारिसमा विभिन्न अस्पतालामा प्लाज्मा थेरापीबाट परीक्षणको रुपमा उपचार भएपछि विशेषज्ञहरुले प्रश्न उठाएका हुन्। प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभइकन उपचार गर्न खोज्दा दुर्घटना निम्तन सक्ने विशेषज्ञहरुको भनाई छ।
रक्त विशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिडको लागि प्रमाणित भइसकेको थेरापी नभएको बताए। उनले उपचारका लागि केही पाइएन अब प्लाज्मा दिउँ भनेर बिरामीको जीवनमाथि खेलवाड गर्ने काम गर्न नहुने पनि स्पस्ट पारे। प्लाज्माले काम गर्न सक्ने भएपनि यो नै कोरोनाको अन्तिम उपचार हो भनेर प्रचार गर्न नहुने पनि डा.पौडेलले बताए।
उनले एनएचआरसीले दुई देखि तीन सय बिरामीमा क्लिनिकल ट्रायल पुरा गरी प्लाज्माले के कति काम गर्यो भन्ने सम्बन्धमा प्रकाशित नगर्दासम्म कोभिडको लागि प्लाज्मा विधिबाट उपचार गर्न नहुने स्पष्ट पारे। क्लिनिकल ट्रायल पनि बिरामीको स्वीकृति नलिइकन गर्न नहुने उनले बताए। तर अहिले बिरामीको उपचार नै प्लाज्मा विधिबाट सुरु गरिएकोमा त्यसलाई मान्न नसकिने उनले बताए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप वैज्ञानिक डा. तिर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार सतप्रतिशत सफल नहुने बताए। कुनै व्यक्ति कोभिड १९ को बिरामी भए उक्त व्यक्तिको रगतमा कोभिड १९ विरुद्धको एन्टीबडि सर्कुलर हुने र उक्त व्यक्ति निको भएमा उसको शरीरको रगतबाट प्लाज्मा निकालेर अर्को व्यक्तिलाई उपचार गर्ने विधि प्लाज्मा थेरापी विधि हो। यो विधिबाट गरिने उपचार सतप्रतिशत नहुने भएको थाहा हुँदै पनि नेपालका किन आयो भन्ने आफूले बुझ्न नसकेको पनि उनले बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दापनि अब्जरभेसन परीक्षणको रुपमा उपचार सुरु गरिएको बताए। अहिले नै उपचारको विधिको रुपमा सबै बिरामीलाई प्रयोग नगरिएको उनले स्पस्ट पारे। पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका संक्रमित र नगराइएका संक्रमितको बिचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताए। अहिले देशभरका २२ वटा अस्पतालमा प्लाज्मा थेरापीमार्फत परीक्षण उपचार गरिएको पनि उनले बताए।
कोभिड १९ संक्रमण निको भई अन्तिम पटक पीसीआर नेगेटिभ आएको कुनैपनि व्यक्तिबाट दुई सातापछि मात्रै प्लाज्मा लिन सकिने पनि उनले बताए। त्यस्तो प्लाज्मा बिरामीको स्वीकृति बिना दिन पाईंदैन। प्लाज्मामा भाइरसको विरुद्ध एन्टीबडि तयार हुने र अन्य संक्रमितलाई उक्त प्लाज्मा दिँदा निको हुन्छ भन्ने मान्यता अनुसार बिरामीको स्वीकृति लिएर नै परीक्षणको सुरुवात गरिएको उनले स्पस्ट पारे।
Shares

प्रतिक्रिया