रुपन्देहीको रोहिणी गाउँपालिका–३, चैनपुरवाका कोरोना संक्रमित बजार आउजाउ र गाउँबस्ती डुल्ने गरेको पाइएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाको मलामी गएका ५ र उनको परिवारका १० जना सदस्यमा सोमबार कोरोना भाइरस पुष्टि भएको रोहिणीका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए।
‘परिवार र मलामी गएकामा संक्रमण पुष्टि भएपछि लगत्तै चैनपुरवा क्षेत्र गाउँपालिका र स्थानीय प्रशासनले शील गरेको छ’, उनले भने।
सिल गरिएकै ठाउँका संक्रमित गाउँबस्तीमा हिँडडुल गर्दासमेत स्थानीय सरकार र प्रहरी प्रशासन भने बेखबर छ। संक्रमित होम आइसोलेसनमा बसेको भनिए पनि उनीहरु नजिकका बजार तथा गाउँबस्ती डुलिरहेको स्थानीय बताउँछन्। मृतक परिवारका सदस्यहरु, मलामी गएका केही संक्रमित मैनिहवा, धकधई बजार लगायतका ठाउँमा आउजाउ गर्ने, सामान खरिद गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्। मंगलबार मात्रै संक्रमित एक जना आफैँले मोटरसाइकल चलाएर मैनिहवा पुगेको प्रत्यक्षदर्शी बताउँछन्।
यस्तै, अर्का संक्रमित धकधईकै एक किराना पसलमा सामान खरिद गर्न गएका थिए। संक्रमित जथाभावी आउजाउ गर्दा यसले रोहिणीमा भित्रभित्रै संक्रमण भयावह भएको हुनसक्ने एक स्थानीय अगुवाले बताए।
‘छिमेकीका नाताले हामी केही बोल्न सकेका छैनौं तर संक्रमित जथाभावी हिँड्दा सिंगो पालिका नै उच्च जोखिममा परेको छ। तुरुन्तै यसलाई रोक्नुपर्छ, होइन भने पछि अवस्था जटिल बन्दै जानसक्छ’, ती स्थानीय अगुवाले भने।
सिल गरिएको चैनपुरवामा प्रहरीसमेत खटाइएको छ। तर, उक्त गाउँका स्थानीय र बाहिरबाट जाने अन्य सर्वसाधरणहरु सिल गरिएको क्षेत्रमा सहजै आउजाउ गर्ने गरेका छन्।
सिल गरिएकाे चैनपुरवा गाउँ
स्वास्थ्य शाखा प्रमुख चौधरी भन्छन्, ‘सबैको घरघर गएर हेरचाह गर्न सकिँदैन। हामीले गाउँ सिल गरेर प्रहरी नै खटाएर हिँडडुलमा रोक लगाएका छौं, संक्रमितलाई छुट्टै कोठामा बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ। अप्ठ्यारो पर्दा फोन गर्न भनेका छौं। यति गर्दासमेत बेवास्ता गर्नेलाई के गर्न सकिन्छ?’
सुगर र प्रेसरका बिरामी ५३ वर्षीया ती संक्रमितको भदौ ६ गते मृत्यु भएको हो। ७ गते दाहसंस्कारका लागि घाटमा लगिएका बेला उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट थियो। संक्रमण पुष्टि भएको थाहा हुँदाहुँदै पनि रोहिणीका जनप्रतिनिधि समेत सहभागी भएर दाहसंस्कार गरेका थिए। मृतकको मलामीमा करिब ४ सय सहभागी थिए। कोरोना पुष्टि भएको थाहा पाएपछि केही मलामीको भागाभाग भए पनि कयौं अन्तिमसम्म घाटमै थिए।
मलामी को–को गएका थिए भन्ने अझैसम्म अत्तोपत्तो छैन। मलामीहरु घाटबाट फर्किएपछि क्वारेन्टिनमा पनि बसेनन्। मृतकका आफन्तको कन्ट्याक टे«सिङ गरिए पनि मलामीको गरिएको छैन। केहीको जाँच गर्दा भाइरस पुष्टि भइसकेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमलाल न्यौपानेले कन्ट्याक टे«सिङ भइरहेको जनाए।
उनले भने, ‘२९ जनाको स्वाव संकलन गरेर जाँच गर्दा १५ जनामा भाइरस देखिएको हो, अन्यको पहिचान गर्ने काम भइरहेको छ।’
गाउँपालिकाका अनुसार संक्रमित १५ जनामा लक्षण भने देखिएको छैन।
‘लक्षण नदेखिएकाले हामीले सबैलाई घरमै बस्न भनेका छौं, यदि संक्रमित जथाभावी हिँडडुल गरेको छन् भने प्रहरीसँग समन्वय गरेर थप कडाई गर्छौं’, न्यौपानेले भने।
रोहिणीमा मंगलबार दिउँसो ४ बजेसम्म २३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एकको मृत्यु भएको छ भने १५ जना संक्रमित मृतक परिवारका सदस्य र मलामी गएका हुन्। अन्य ७ जनामा भने पहिल्यै कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया