समाज


सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

नेपालखबर
साउन ६, २०७६ सोमबार १०:४३,

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन्। साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन्।

टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ नं को पिकअप भ्यान सोमबार दिउँसो पल्टेको हो। घाइते यात्रुको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार शुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

घाइते सबै महोत्तरीकै सीमावर्ती भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएको पुष्टि भएको छ। सोमबारे मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दूधेश्वरनाथ महादेवको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए। सामान ओसार्ने पिकअपमा कोचाकोच यात्रु राखेर फर्किएको सो गाडी पूर्व–पश्चिम राजमार्ग नपुग्दै वनक्षेत्रमा पल्टेको प्रहरीले जनाएको छ।

गाडी पल्टनेबित्तिकै चालक फरार भएका थिए। सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्रसिंह घाइते भएका छन्। घाइते तीर्थयात्रीमा १० वर्षीया बालिका काजलकुमारीसहित ११ महिला छन्। घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रनाउ थापाले बताए।

टुटेश्वरनाथबाट फर्केको पिकअप तीव्र गतिमा हुइँकिँदा आफूलाई डर लागेर विस्तारै चलाउनोस् भन्दा चालकले झन् हौसिएर गुडाउँदा गाडी पल्टेको तीर्थयात्री समूहकै ३५ वर्षीय सिल्टु साहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad