समाज


जेरुसेलमका प्यालेस्टिनी घरहरु इजरालयद्वारा भत्काउन शुरु, अन्तर्राष्ट्रिय चासो बढ्यो

जेरुसेलमका प्यालेस्टिनी घरहरु इजरालयद्वारा भत्काउन शुरु, अन्तर्राष्ट्रिय चासो बढ्यो

नेपालखबर
साउन ६, २०७६ सोमबार १०:४२,

घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ।

इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए।

फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ।

उक्त स्थानमा रिपोर्टिङका लागि संवाददाताहरुलाई पनि प्रवेश गर्न दिइएको छैन। घरका मानिस र त्यहाँ भेला भएका अधिकारकर्मीहरुलाई जबर्जस्ती घर बाहिर निकालिएको छ।

घरधनी एक व्यक्तिले “म यहीँ मर्न चाहन्छु” भन्दै चिच्याएका थिए।

प्यालेस्टिनीहरुले फौजी बलमा आफूहरुलाई घरबाहिर निकालेको र ती ठाउँमा इजरायली बस्ती विस्तार गर्ने मनसाय राखेको आरोप लगाएका छन्।

इस्माइल अबाडियेले इजरायल सरकारले घर भत्काएसँगै आफूहरु घरबारविहीन भएको प्रतिक्रिया दिए। उनले भने, “हामी अब सडकमा पुगेका छौं ।”

गत जुन १८ मा इजरायल सरकारले घर छाड्न ३० दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो। इजरायल सरकारले ती घर भत्काउने जानकारी पनि स्थानीयबासीलाई गराएका थिए।

प्यालेस्टिनी समुदायका यहाँका अधिकाँश घर निर्माणकै क्रममा रहेका छन्। राष्ट्रसंघीय मानवीय सहायता निकाय (ओचा) का अनुसार इजरायलको पछिल्लो कदमबाट प्यालेस्टिनी समुदायका निर्माणाधीन १० वटा भवन भत्कनेछन्।

साथै ७० वटा अपार्टमेन्ट पनि नष्ट हुनेछ। भवन भत्काउँदा करिब ३५० जना प्रभावित हुनेछन्।

युरोपेली युनियनका कुटनीतिज्ञहरुले पनि केही दिन अघि उक्त क्षेत्रको भ्रमण गरेका थिए। राष्ट्रसंघले भवन भत्काउने योजना तत्काल स्थगित गर्न इजरायल समक्ष आग्रह गरेको थियो।

स्थानीय प्यालेस्टिनीहरुले अरु १०० भन्दा बढी घर भत्काउन इजरायलले तयारी गरिरहेको दाबी गरेका छन्।

इजरायलले सन् १९६७ को छ–दिने युद्धमा पश्चिम किनारा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो। इजरायलले पछि पूर्वी जेरुसेलमलाई भने इजरायलको अभिन्न भूभागका रुपमा इजरायलमा विहीन गरेको थियो तर अन्तर्राष्ट्रिय समुदायले इजरायलको उक्त कदमलाई कहिल्यै स्वीकार गरेका थिएनन्।

इजरायलले सन् २००० को दशकमा प्यालेस्टिनी क्षेत्रबाट इजरायललाई अलग्याउन पश्चिम किनारामा पर्खाल लगाउन शुरु गरेको थियो। प्यालेस्टिनीहरुले उक्त पर्खाललाई “रङ्गभेदी पर्खाल” को संज्ञा दिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad