सर्लाहीको हरिवन-१० की सपना मोक्तानको उपचारको लागि हरिवनबासीले आर्थिक सहयोग संकलन सुरु गरेका छन्।
आर्थिक अभावको कारण उपचारमा समस्या सिर्जना भएपछि जनस्तरबाट आर्थिक संकलन सुरु गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए।
नेकपाका प्रदेश सांसद डिल्ली उप्रेती, मेयर प्रसाइँसहितले शनिबार मोक्तानका बुवा बिकुमान मोक्तानलाई भेटेर एक लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। हरिवन-१० धरहरामा रहेको मोक्तानाको माइती घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। सिन्धुलीको क्यानेश्वर विवाह भएकी मोक्तान बिरामी भएपछि माइतीमा बस्दै आएकी थिइन्।
ट्युबिकुलर मेनिन्जाइटिसबाट गम्भीर बिरामी २१ वर्षीया मोक्तानको हाल वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
‘उहाँको उपचारमा आर्थिक समस्या सिर्जना भएको जानकारी पाएपछि जनस्तरबाटै आर्थिक सहयोग जुटाउन सुरु गरेका हौँ,’ मेयर प्रसाइँले आइतबार बिहान नेपालखबरसँग भने, ‘उहाँको उपचारको लागि हरिवन नगरपालिकाले पनि ५० हजार रुपैयाँ सहयोग गर्नेछ।’
मोक्तानको उपचारको विषयलाई लिएर केही सञ्चारमाध्यले आफूलाई बदनाम गर्नेगरी समाचार सम्प्रेषण गरेकोमा मेयर प्रसाइँले दुःख व्यक्त गरे। ‘हाम्री गाउँकी चेलीको उपचारको विषयलाई लिएर हामी गम्भीर छौँ, सहयोग संकलनमा जुटेकै अवस्थामा केही व्यक्ति र सञ्चारमाध्यमले गलत नियतसहित मेरो बदानाम गर्नेगरी समाचार सम्प्रेषण गरेकोमा भने दुःख लागको छ।’
यसैबीच नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमै पुगेर मोक्तानका पति समीर वाइबालाई भेटेर उनकाे उपचारको सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने आश्वासन दिएका छन्।

उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले बेहोर्ने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्।
‘सपना मोक्तानको सम्पूर्ण खर्च मैले जिम्मेवारी लिएको छु’, उनले नेपालखबरसँग भने, ‘सपनाका श्रीमानलाई पनि दैनिक खाना खर्चवापत पाँच सय रुपैयाँसमेत दिइनेछ।’
अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएको बताए।

प्रतिक्रिया