कोरोना संक्रण समुदायमै फैलिएपछि प्रतिदिन सयौंको संख्यामा संक्रमित फेला पर्न थालेका छन्। कतिपय सार्वजनिक तथा निजी अस्पतालले रुघाखोकी, ज्वरो लागेका बिरामीहरुलाई भर्ना गर्न मान्दैनन्।
यस्तो अवस्थामा अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको ज्यान जाने गरेका घटनासमेत भइरहेको छ। त्यति मात्र होइन बिरामीलाई अस्पताल पुर्याउन धेरै एम्बुलेन्सहरुले अस्वीकार गर्ने प्रवृति मौलाएको छ। आइसोलेसन र अस्पतालको अभावमा धेरै कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएका छन्।
कोरोना कहरमा संक्रमित र बिरामीको बिल्लीबाठ भएको बेला जनकपुर स्थित क्लोथबैंक नामक संस्थाले होम आइसोलेसन अभियान चलाएर कोरोना संक्रमितको उपचार सुरु गरेको छ। संक्रमितलाई घरकै होम आइसोलेसनमा चिकित्सको परामर्शसहितको उपचार, बिरामीलाई अस्पतालसम्म लैजान ल्याउन एम्बुलेन्सको लागि समन्वय गर्ने अभियान क्लोथ बैंकले चलाएको हो।
जनकपुर स्थित क्लोथ बैंककको परामर्शमा अहिले ६९ जना कोरोना संक्रमितको हामेआइसोलेसनमै उपचार भइरहेको छ।
अन्य दिनमा दाताहरुबाट लिएर गरिब तथा विपन्नलाई निःशुल्क कपडा वितरण गर्ने क्लोथ बैंक संस्था झण्डै एकमहिनादेखि कोरोना संक्रमितको उपचारको लागि होम आइसोलेसन अभियान लाएको हो।
अहिलेसम्म क्लोथ बैंकको सम्पर्कमा ७१ जना संक्रमित आएका छन्। जस मध्ये २ जना निको भएको र ६९ जना संक्रमितको होमआइसोलेसनमै चिकित्सकको परामर्शमा उपचार भइरहेको क्लोथ बैंकका अध्यक्ष राजिव झाले बताए।
धनुषाका ३५ जना, पर्सा जिल्लाका १९ जना, बारा जिल्लाका ३ जना, सर्लाहीमा ५ जना, महोत्तरीमा १ जना, सिरहाका ३ जना, सप्तरीका ३ जनाको होम आइसोलेशनमा क्लोथ बैंकको समन्वयमा उपचार भइरहेको छ।
‘क्लोथ बैंकको सम्पर्कमा आएका संक्रमितहरुलाई घरकै एउटा कोठालाई होम आइसोलेसनमा बनाउन र निको नहुञ्जेल त्यसमै बस्न आग्रह गर्छौं। कुनै समस्या भए चिकित्सकको परामर्श अनुसार औषधि खान र बस्न सुझाव दिन्छौं’, क्लोथ बैंकका अध्यक्ष झाले नेपालखबरसँग भने ‘श्वासप्रश्वासमा सामान्य समस्या भए घरमै अक्सिजनको सिलिण्डर पठाइदिने गरेका छौं। त्योभन्दा बढी समस्या भए सुविधासम्पन्न अस्पतालमा पुर्याइदिनेसम्मको जिम्मेबारी क्लोथबैंले लिएको छ।’
क्लोथबैंकले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत वरिष्ठ चिकित्सकहरुसँग समन्वय गरी कोरोना संक्रमितको उपचारको लागि परामर्श तथा श्वास प्रश्वासमा समस्या भएका संक्रमितलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
संक्रमितलाई प्रदान गर्न दाताहरुबाट २२ वटा अक्सिजन सिलिण्डर जम्मा पारेका छन्। अन्य ३८ वटा सिलिण्डर दिने विभिन्न संघसंस्था र व्यक्तिहरुले प्रतिवद्धता जनाइसकेको अध्यक्ष झाले बताए। क्लोथ बैंकको सम्पर्कमा सहयोगका लागि ५१ जना चिकित्सक रहेको समेत उनले जानकारी दिए।
संक्रमितलाई बढी समस्या भएको खण्डमा अक्सिजनसहित दुईवटा फीपाइप समेत घरमै उपलब्ध गराइदिने व्यवस्था गरेको जनाइएको छ।

संक्रमित बिरामी नियमित रुपमा क्लोथ बैंकको सम्पर्कमा आउन थालेको अध्यक्ष झाको भनाइ छ। प्रहरी प्रशासन, चिकित्क, युवा अभियान, प्रवुद्ध नागरिक तथा सहयोगी हातहरुको सहकार्यमा यो अभियानलाई अगाडि बढाएको उनले बताए।
बिरामी ओसार्न समन्वयमा २४ घण्टै एम्बुलेन्स सेवा
कोरोना संक्रमणको जेखिममा रुघाखोकी, ज्वरो, श्वासपश्वास तथा संक्रमित बिरामीलाई अस्पतताल पुर्याउन एम्बुलेन्सहरुले आनाकानी गर्ने गरेका छन्। तर सहजै एम्बुलेन्स सेवा उपलब्ध गराउन क्लोथ बैंकको पहलमा एम्बुलेन्स चालकहरु जुनसुकै बेला बिरामी बोक्न राजी भएका छन्।
बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहत छलफलबाट सुरक्षाका सम्पूर्ण सामग्री क्लोथ बैंकले उपलब्ध गराउने निर्णय भएपछि चालकहरु राजि भएका हुन्।
क्लोथ बैंकले एम्बुलेन्स चालकलाई पीपीई, मास्क, ग्लभ्स, सेनिटाइजर, फेस हेलमेट सहितका सवै समाग्री उपलब्ध गराउने सर्तमा २९ वटा एम्बुलेन्सले बिरामी बोक्न प्रतिवद्धता जनाएको अध्यक्ष राजिव झाले बताए।
उक्त बैठकबाट एम्बुलेन्स समस्या समाधानका लागि एक समिति गठन गर्दै एम्बुेन्सहरुको नम्बरसमेत जारी गरिएको छ। नेपाल रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंह, क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा, सचिव मनिष झा, समाजिक अभियन्ता सरोज राय एम्बुलेन्स चालक लगायतको उपस्थितिमा यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया