भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी बिहीबार पनि ‘डिप कोमा’ मा रहेको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ।
उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एन्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पताले बुधबार विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको थियो।
बिहीबार पनि उक्त अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखिएको जनाएको हो। नयाँ दिल्लीबाट भारतीय सञ्चारमाध्यमहरुले सो समाचार दिएका बताइएको छ। उनलाई केही समय यही उपचार प्रविधिमा राखिने सो अस्पतालले बुधबार नै जानकारी दिएको थियो।
पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए। उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको जनाइएको थियो। त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया