ad ad

समाज


विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, यस्तो छ शुल्क र सुविधा

विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, यस्तो छ शुल्क र सुविधा

उजिर कार्की
भदौ ९, २०७७ मंगलबार १५:२२,

सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड तोकेको छ। क्वारेन्टिनका रुपमा प्रयोग हुने होटल कम्तीमा २० वटा कोठा भएको हुनुपर्ने छ।

होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न मिल्ने हुनु पर्नेछ। हवाई यात्रुका लागि सेवा प्रदान गर्न खाना, पानी अन्य लजिस्टिक सपोर्ट र स्वाब परीक्षणका लागि नमुना संकलनको लागि खुल्ला ठाउँ पनि भएको हुनु पर्ने छ।

होटलमा टीभी, वाईफाई, अट्याच बाथरुम, नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने छ।

त्यस्तै, होटलमा खाना खाने तथा अन्य सेवा कोठा तथा प्यासेजमा मात्रै गर्न पाइने छ। प्रत्येक कक्षमा साबुन पानी र स्यानिटाइजर हुनु पर्ने तर होटलले प्रदान गर्ने सामूहिक खाना, जिम, साउना, इन्डोर तथा आउटडोर खेलहरु बन्द गर्नु पर्नेछ।

प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, ह्यान्डवास र टावेल पहिले नै राख्नु पर्नेछ।

होटलमा क्वारेन्टिनका रुपमा सात दिनसम्म बस्दा तिर्नु पर्ने शुल्क पनि सरकारले तोकेको छ। इकोनोमी पर्यटकस्तरका होटलमा सात रात र आठ दिनका लागि दुई जना बस्ने कोठाको प्रतिव्यक्ति ११ हजार र एक जना बस्ने कोठाको १७ हजार ५ सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ।

यो अवधिभन्दा बढी बस्नु पर्नेका लागि दुई जना बस्ने कोठामा प्रतिव्यक्ति दिनको १ हजार ५ सय र एक जना बस्ने कोठाका लागि २ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउने मापदण्ड बनाइएको छ।

यस्तै स्टार/बुटिक होटलमा एक जना बस्ने कोठाका लागि दैनिक ४ हजार रुपैयाँ र दुई जना बस्ने कोठाका लागि दैनिक २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

एयरपोर्टबाट होल्डिङ सेन्टर र होटलसम्म पु¥याउने यातायातको व्यवस्था पनि होटलले नै गर्नु पर्ने छ, तर थप शुल्क लिन पाइने छैन।

हवाई यात्राबाट आउने यात्रुले होटल भौचर साथमा लिएर आउनु पर्नेछ। इकोनोमी/पर्यटकस्तर होटलका लागि हरियो, स्टार/बुटिक होटलका लागि नीलो र तीन तारे वा सोभन्दा माथिका होटलका लागि होटलको स्तर र एक जना वा दुई जना बस्ने भन्ने खुलाएको बैजनी रंगको भौचर हुनु पर्नेछ।

होटललाई तिर्नु पर्ने शुल्क यात्रुले पहिले नै बुझाउनु पर्ने छ। यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ।

विमानस्थलबाट होटलसम्म कुन दिन कसले यात्रुलाई लैजाने भन्ने पनि तोकिएको छ। जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन्। तीन तारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ।

यो पनि:

काठमाडौंमा क्वारेन्टिनका लागि होटलका ६ हजार बेड तयार (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .