समाज


यी हुन् कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएका ६ औषधि

यी हुन् कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएका ६ औषधि

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १३:१८,

कोभिड–१९ का बिरामीको उपचारमा अनेकौँ औषधि र थेरापी प्रयोग भइरहेका छन्। त्यसमध्ये केहीले सकारात्मक नतिजा दिएका छन्। जसको प्रयोग गरेर अस्पतालहरुले मृत्युदर कम गर्न सफल भएका छन्। तर, सबै बिरामीलाई निको पार्ने औषधि अझै फेला परेको छैन। हालसम्म बढी प्रभावकारी देखिएका औषधि र उपचार विधि यसप्रकार छन्ः

१. डेक्सामेथासोन
जुन महिनाको मध्यमा अक्सफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको अध्ययनअनुसार गम्भीर बिरामीको ज्यान बचाउन यो औषधि सफल भएको छ। दमलगायतका अनेकौँ रोगको उपचारमा प्रयोग हुने यो औषधि सस्तो र विश्वभर उपलब्ध छ। ६० वर्षअघिदेखि यो औषधि प्रयोग हुँदै आएको छ। बेलायतमा गरिएको ठूलो परीक्षणबाट यसको प्रभावकारिता पुष्टि भएको हो।

२. प्लाज्मा थेरापी
कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिको एन्टिबडीसहितको प्लाज्मा गम्भीर बिरामीलाई दिइने पद्धतिलाई प्लाज्मा थेरापी भनिन्छ। अन्य रोगहरुमा पनि यो उपचार पद्धतिको प्रयोग हुने गरेको छ। कोभिडका बिरामीको उपचारमा पनि यसको सफलतापूर्वक प्रयोग गरिएको छ। तर, अझै पनि विज्ञहरु यसको प्रभावकारितालाई पुष्टि गर्ने व्यापक तथ्यांक उपलब्ध नभएको बताउँछन्।

३. रेमडिसिविर
यो औषधि अमेरिका, युरोप, भारत, सिंगापुरलगायत स्थानमा आपतकालीन अवस्थामा कोरोनाका गम्भीर बिरामीमा प्रयोग गर्न अनुमति दिइएको छ। तर, यो निकै महंगो औषधि हो। पहिले हेपाटाइटिस सीको उपचारका लागि बनाइएको यो औषधि प्रभावहीन बनेको थियो। पछि फेरि यसलाई इबोलाको उपचारमा प्रयोग गर्न थालियो। यो औषधिले बिरामीको अस्पताल बसाइ १५ दिनबाट ११ दिनमा छोट्याउने बताइएको छ। तथापि, ज्यान बचाउन कति प्रभावकारी भन्ने टुंगो लागिसकेको छैन।

४. टसिलिजुमाब
शरीरको रोग प्रतिरोधात्मक क्षमताले कोरोना भाइरसप्रति प्रतिक्रिया जनाउँदा अंगहरु सुन्निने–पोल्ने हुन थाल्छ। त्यसका लागि ‘एन्टी–इन्फ्लामेटरी’ उपचार विधिको प्रयोग गरिँदै आएको छ। टसिलाजुमाब जोर्नी दुख्ने–पोल्ने रोगको उपचारका लागि प्रयोग हुँदै आएको थियो। मार्चमा इटलीमा कोभिड–१९ का बिरामीमा यो औषधि प्रयोग गरियो। जसले बिरामी भेन्टिलेटरमा पुग्ने तथा मृत्युको सम्भावना समेत घटाएको थियो। तर, यसका लागि विस्तृत अध्ययन हुन बाँकी छ।

५. ब्लड प्रेसरको औषधि
बेलायतको युनिभर्सिटी अफ इस्ट आंग्लियामा गरिएको अध्ययनअनुसार उच्च रक्तचाप भएका र त्यसको उपचारमा एन्जियोटेन्सिन–कन्भर्टिङ एन्जाइम इन्हिबिटर्स (एसीईआई) लिइरहेका संक्रमित गम्भीर बिरामी हुने वा मर्ने सम्भावना कम देखिएको थियो। तर, यसको अर्थ उच्च रक्तचाप नभएका संक्रमितमा यो औषधि प्रभावकारी हुन्छ भन्ने होइन।

६. इन्टरफेरन बेटा
साउथह्याम्पटन युनिभर्सिटीमा गरिएको सानो अध्ययनमा इन्टरफेरन बेटा नामक औषधि सासबाट तान्दा कोभिड–१९ का बिरामीको उपचारमा प्रभावकारी हुन्छ। ९ वटा अस्पतालका १ सय १ बिरामीमा यो परीक्षण गरिएको थियो। यो औषधि लिनेहरु अन्यको तुलनामा छिटै अस्पतालबाट डिस्चार्ज भएका थिए। यद्यपि औषधिको प्रभावकारिता पुष्टि गर्न थप तथ्यांक र परीक्षण आवश्यक पर्ने विज्ञहरुले बताएका छन्। गार्जियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad