ad ad

समाज


उपत्यकामा १० हजार संक्रमित रहेको आशंका, ‘चेन ब्रेक’को प्रयास

उपत्यकामा १० हजार संक्रमित रहेको आशंका, ‘चेन ब्रेक’को प्रयास

नारायण ढु‌ंगाना
भदौ ९, २०७७ मंगलबार १३:१०,

कोभिड–१९ को संक्रमणले मुलुकका विभिन्न जिल्लासँगै संघीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन्। राजधानीमा संक्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र शंकास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तिब्र पारिएको छ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ। काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन्। फोरमको बैठकले संक्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णयमुताविक काम थालेको हो। समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। हाल उपत्यकामा १० हजार संक्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ।

उक्त अभियानमार्फत समुदायस्तरमा संक्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए। प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ। झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा संक्रमण फैलिएको जानकारी दिए। आज मात्रै उपत्यकामा २३२ जना नयाँ संक्रमित फेला परेका छन्। त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन्।

उपत्यकामा विगतमा नगन्य संक्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्याधिक रुपमा संक्रमित भेटिएको छ। साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो। त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा संक्रमण फैलिन सहयोग गरेको थियो।

‘पछिल्लो समय उपत्यकामा तिब्र गतिमा संक्रमण फैलियो, अब संक्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ’, मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, ‘फैलिँदै गरेको संक्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौं।’

फोरमको हालैको बैठकले संक्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरुको परिवारका साथै शंकास्पद क्षेत्रका मानिसको समेत स्वाब संकलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ।

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन्। उनीहरुको परीक्षण गर्दा १० हजारमा संक्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ। नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ। सोहीअनुसार तथ्यांक संकलन र विष्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उनले बताए। श्रेष्ठका अनुसार मध्यपुर थिमीले वुधबारबाट उक्त अभियान थाल्दै छ।

‘दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै ५०० जनाको स्वाब सङ्कलन हुँदैछ’, श्रेष्ठले भने।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताए।
‘सबैभन्दा पहिले शकास्पद व्यक्तिका स्वाब संकलन गरी परीक्षण नै हो त्यसपछि उनीहरुलाई राख्ने स्थान (आइसोलेशन)को व्यवस्थापन हो, त्यसमा लागेका छौँ’, डंगोलले भने।

आइसोलेशन समेत बढाउँदै
उपत्यकामा अहिले आइसोलेशन न्यून छ। त्यसैले सरकारले लक्षण नदेखिएकालाई घरमै आइसोलेशनमा बस्ने गरी मापदण्ड तयार पारेको छ। त्यसमा समुदायस्तरबाट दुव्र्यवहारका घटनासमेत देखिएकाले स्थानीय प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले दुव्र्यवहार गर्नेविरुद्ध कारवाही गर्न निर्देशनसमेत दिएको छ। त्यसैले आवश्यकता देखेर आइसोलेशनको व्यवस्थापनमा गृह मन्त्रालयसहित उपत्यकाको नगरपालिका लागेको छ।

काठमाडौँ महानगरले आइसोलेशन बनाउनका लागि ५/६ स्थान छनोट गरिसकेको छ। स्थानीयबाट विरोध आउनसक्ने भएकाले नाम सार्वजनिक गरिएको छैन। अहिलेलाई सबै अस्पताल नै छनोट गरिएको डंगोलले बताए। परीक्षणमा संक्रमित फेला परे उनीहरुलाई राख्न झण्डै ६ हजारको आइसोलेशन थप्ने योजना गृह मन्त्रालयको समेत छ। उपत्यकाका नगरपालिकाहरु समेत आइसोलेशन व्यवस्थापनको तयारीमा जुटेका छन्। भक्तपुरले एक हजार बेडको आइसोलेशन तयार पारिसकेको छ।

अहिलेको निषेधाज्ञलाई एक हप्ता थप्न सुझाव दिएको फोरमले १५ गतेसम्म आफ्नो सबै सेवा रोकेर यही बीचमा परीक्षण सक्ने योजनाका साथ काम थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। अहिलेको परीक्षणले उपत्यकाको संक्रमणको अबस्था कस्तो छ भनेर पत्ता लगाउने र अवस्था हेरेर नयाँ रणनीति बनाउन फलदायी हुने विश्वास गरिएको छ। नयाँ आइसोलेशन बनाउँदा समस्या हुने र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सक्ने अवस्था नरहेकाले अस्पताललाई नै परिचालन गर्नुको विकल्प नभएको फोरमले जनाएको छ।

फोरमले स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका अधिकारीसँग समेत छलफल गरिसकेको छ। छलफलको निष्कर्षअनुसार महाशाखाबाट हरेक नगरपालिकाका लागि एकएक जना फोकल व्यक्ति उपलब्ध हुने छन्। महानगरभित्र रहेको स्वास्थ्य सेवा एकाईको टोलीले उनीहरुसँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरेर परीक्षण गर्ने छ। अहिले १० हजार संक्रमित रहेको अनुमान गरिए पनि परीक्षण पछि मात्रै यकिन विवरण आउने जनाइएको छ। सबै काम आगामी एक हप्तामा सक्ने योजना फोरको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .