आज देशभर मौसम बदली भई केही स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले (नेपालखबरसँग कुरा गरेका बेला मंगलबार बिहान ८:४५ बजे) पनि चितवन, रुकुम, जाजरकोट, सल्यान तथा जुम्लामा हल्का पानी परिरहेको छ।
यसैगरी आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘दिउँसोलाई भारी वर्षाको सम्भावना खासै देखिएको छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘तर पनि प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।’
राति भने अलि बढी ठाउँमा भारी वर्षाको सम्भावना देखिएको छ।
महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।
महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-
‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया