पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो। सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए।
मृतक र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा राखिएको थियो। त्यहाँ पनि तालिबान समूहमा आबद्ध एक महिलाले आत्मघाती बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ। तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चार माध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन्।
एएफपीका अनुसार प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ। पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर साना स्तरका आक्रमणहरु भने जारी छन्।
यी आक्रमणहरु प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकाहरुमा हुने गरेका छन् ।

प्रतिक्रिया