प्रहरीले मकवानपुरमा गाँजा तस्करलाई पक्राउ गर्न गोली चलाएको छ।
शनिबार राति प्रहरीले मनहरि गाउँपालिका– ९, रजैया राप्ती खोलाबाट गोली प्रहार गरी कुख्यात गाँजा तस्कर राक्सिराङ गाउँपालिका–१ ढुंगेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको हो।
राप्ती खोला क्षेत्रमा गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्याङतानले गोली प्रहार गरेका थिए। प्रहरीले जवाफी फायर गर्दै स्याङतानलाई पक्राउ गरेको जनाएको छ।
स्याङतान मकवानपुरका कुख्यात गाँजा तस्कर हुन। उनी प्रहारीको खोजीसूचीमा थिए। तस्करीमा संलग्न अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले लामो समयदेखि प्रहरी खोजीमा रहेका तस्कर पक्राउ गर्न सफल भएको नेपालखबरसँग बताए।
उनले घटनामा लडेर एकजना सहायक निरीक्षक सामान्य घाइते भएको बताए। उनका अनुसार प्रहरी र तस्कर दुबै समूहबीच कुनै मानवीय क्षति भएको छैन।

प्रतिक्रिया