चितवनका छुट्टाछुट्टै घटनामा दुई जना किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत चितवनले दुई युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबर्जस्ती जङ्गलमा लगेर बलात्कार गरेको पीडित युवतीले बयान दिएकी छन्।
यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ। जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको प्रवक्ता थापाले जानकारी दिए।
अभियुक्त श्रेष्ठले १६ वर्षीया किशोरीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई बलात्कार गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा उनले किशोरीलाई बलात्कार गरेका थिए।
उनले असार ८ गते रातिसम्म सँगै राखेर पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी छन्। रासस

प्रतिक्रिया