अछामको रामारोशन गाउँपालिका-५ मा मंगलवार राति बाढीले बगाएर बेपत्ता बनाएकामध्ये ६ जनाको शव भेटिएको छ।
रामारोशन गाउँपालिका-५ मा स्थानीय कैलाश खोलामा गएराति आएको बाढी बस्तीमा पसेको थियो। बाढीमा परेर मृत्यु भएका ६ जनाको शव भेटिएको रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताइन्।
उनका अनुसार अझै १७ जना बेपत्ता छन्। ‘मानविय क्षतिसँगै ठूलो भौतिक क्षति पनि भएको छ। अहिलेसम्म ६ जनाकोा शव भेटिएको छ। अझै १७ जना सम्पर्कविहिन छन्,’ उनले नेपालखबरसँग भनिन्, ‘मृतक पहिचान भने खुल्न सकेको छैन्।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन्। उता जिल्ला प्रहरी कार्यालय अछामले भने क्षतिको यकिन विवरण नआएको जनाएको छ।
गएराती बस्ती पसेको बाढीले सैनीबजार, गजडबजार र मुजा बगरमा क्षति गरेको उपाध्यक्ष रावलले बताइन्। बाढीले दर्नामा रहेको एउटा पक्की पुलसमेत बगाएको छ। उद्धारका लागि हेलिकप्टर आउने तयारी भइरहेको उपाध्यक्ष रावलले जानकारी दिइन्।
याे पनि अछाममा बाढीले बगाउँदा तीन जनाको मृत्यु, १९ जना बेपत्ता

प्रतिक्रिया