रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ (साबिक टिकुलीगढ गाविस–४) का जाकिर मुसलमानले २०३० सालमा स्थानीय बलभद्र जोशीसँग ३ कठ्ठा जमिन किने।
साबिक कित्ता नं. २४४ बाट जाकिरसँगै देवीदत्त पौडेल, बीरबहादुर खत्री, रामसुरत केवट र जयलाल सुवेदीले ८ बिघा १५ कठ्ठा ७ धूर जमिन किनेका हुन्। बलभद्रसँग जाकिरले प्रतिकठ्ठा एक हजारमा जमिन किनेको उनले बताए। सगोलमा किनेर कित्ताकाट गर्दा जाकिरको भागमा कित्ता नं. ३७६ को ३ कठ्ठा जमिन पर्यो।
त्यसैमा झुपडी बनाएर बसे। अहिले करिब ७ वर्षअघि सोही जमिनको एकतर्फ पक्की घर बनाएका छन्। जमिन किनेको २३ वर्षपछि २०५३ सालमा वीरबहादुरको छोरा लालबहादुरले नापीमा आएर एकलौटी नक्सा संशोधन गरेर जाकिरलाई तिम्रो जमिन यहाँ होइन, देवीदत्तको घर भएको कित्ता नं. ३७४ मा पर्छ। यो ठाउँ खाली गर भनेर दबाब दिए।
जाकिर भन्छन्, ‘२३ वर्ष बसोबास गरेको, पहिल्यै भागबण्डा गरेर मालपोतबाट पाससमेत गरिसकेको जमिन एकाएक खाली गर, तेरो होइनभन्दा म अचम्म परेँ।’

लालबहादुरले जाकिरलाई उठिबासै लगाउन छोडेनन्। पटक–पटक खाली गर्न दबाब दिए। त्यसपछि जाकिर अदालत जान बाध्य भए। उनले तत्कालै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरे। २०५६ माघ १३ गते तत्कालीन जिल्ला न्यायाधीश चित्रदेव जोशीको इजलासले उक्त जमिन जाकिरकै भएको फैसला गर्यो।
जिल्लाको फैसलाविरुद्ध लालबहादुरले उच्च अदालतमा रिट निवेदन दर्ता गरे। त्यसको सुनुवाइ गर्दै २०५९ भदौ १७ गते न्यायाधीशद्वय चन्द्रबहादुर कार्की र बुद्धिप्रसाद रेग्मीको संयुक्त इजलासले कित्ता नं. ३७६ को ३ कठ्ठा जमिन जाकिरकै भएको भन्दै जिल्ला अदालतको फैसला सदर गर्यो।
‘त्यसपछि मलाई राहत मिल्यो, निकै खुसी भएँ। न्याय मरेको रहेनछ भन्ने आभास भयो’, जाकिरले त्यसबेलाको खुसी साट्दै भने।
तर जाकिरको खुसी धेरै दिन टिकेन। त्यही वर्ष उच्चको फैसलाविरुद्ध लालबहादुर सर्वोच्चमा गए। २०६५ चैत ४ गते सर्वोच्चका न्यायाधीश मोहन प्रकाश सिटौला र सुशीला कार्कीको संयुक्त इजलासले उक्त जमिन जाकिरको नभई लालबहादुरको भएको फैसला गर्यो।
नापी कार्यालयमा रहेको जमिनको वास्तविक नक्सा ।
त्यसयता भने जाकिर आनन्दले निदाउनसकेका छैनन्। सर्वोच्चमा नापीले नक्सा पठाउँदा नै फरक–फरक पठायो। नापीको गल्तीले जाकिरले सर्वोच्चबाट मुद्दा हारे। नापीले सर्वोच्चमा नक्सा पठाउँदा जाकिरको कित्ता नं. ३७६ को जमिन भएको ठाउँमा कित्ता नं. ९३५, ९४० र ९४१ भएको देखाएको छ। ताकि उक्त नक्सामा कित्ता नं. ३७६ दुई ठाउँमा देखाइएको छ। थरि–थरिको नक्साकै कारण सर्वोच्चले जाकिरविरुद्ध फैसला गर्यो।
‘जिल्ला र उच्च अदालतमा नापीबाट नक्सा पठाउँदा कित्ता नं. ३७६ जाकिरको भएको देखिन्छ। तर, सर्वोच्चमा पठाउँदा तीनथरि नक्सा पठाइएको छ। किन त्यसरी खप्टाएर फरक–फरक नक्सा पठाइयो यथार्थ बुझ्नैपर्छ’, नापी कार्यालय भैरहवाका प्रमुख अजित कुँवरले नेपालखबरसँग भने।
कित्ता नं. ३७६ दुई ठाउँ देखाएर सर्वोच्चमा पठाइएको गलत नक्सा ।
सर्वोच्चले जाकिरको जमिन लालबहादुरको भएको फैसला गरे पनि कार्यान्वयन गर्नु भनेर १२ वर्षसम्म पनि पत्र नापी कार्यालय पठाएको छैन।
नापी र मालपोतको तथ्यांकमा उक्त ३ कठ्ठा जमिन जाकिरकै भएको देखिन्छ। जाकिरसँग जमिनको नक्सा र लालपुर्जासमेत छ।
‘मसँग सबै प्रमाण हुँदाहुँदै सर्वोच्चले जमिन अर्कैको भएको फैसला गर्यो। सोझासाझाले न्याय पाउँदैनन् भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ’, जाकिर भन्छन्, ‘कि त तेरो जमिन यहाँ हो भनेर देखाइदिनुपर्यो। होइन भने सर्वोच्चको फैसला न्यायसंगत नै छैन।’
लामो समय मुद्दा लड्दालड्दै जाकिरको ३ बिघा जमिन पनि सकियो। तर, न्याय भने पाएनन्। २०५३ सालबाट ऋण खोजेर मुद्दा लड्न थालेका उनले २०६० सालमा तिलोत्तमा १४ मा रहेको ३ बिघा जमिन बेचेर ऋण तिरेको बताए।
‘ऋण काढेर अदालत धाएँ। वकिल खर्च तिरेँ। छोराहरु साना भएकाले कमाउने कोही थिएनन्। ब्याज तिर्ने पैसासमेत नभएपछि १२ लाखमा जमिन बेचेर ऋण तिरेँ’, जाकिरले भने, ‘न्याय भने अझै पाएको छैन। मुद्दा लड्दालड्दै मर्ने बेला भयो।’
जग्गाकाे लालपुर्जा।
स्थानीयबासी पनि जाकिरले न्यायको आशामा अहिले करोडौँ पर्ने जमिन उसबेला सिन्कीको भाउमा बिक्री गरेको बताउँछन्।
जाकिरका ५ छोरा छन्। अहिले छोराले कमाउन थालेपछि उक्त जमिनमा ७ वर्षअघि पक्की घर बनाएका हुन्।
‘मुद्दा लड्नकै लागि बुबाले ३ बिघा जमिन बेच्नुभयो। अहिले ३ कठ्ठा जमिन ५ भाइले बाँडेर खाने अवस्था छ। त्यसमा पनि अर्कैको आँखा लागेको छ’, जाकिरका छोरा हफिजु रहमान मुसलमानले भने।
न्यायालयले समेत आफूहरुलाई अन्याय गरेको उनको गुनासो छ।
‘यो जमिन तिमीहरुको होइन भनेपछि अर्को ठाउँ कहाँ छ भनेर देखाउनुपथ्र्यो। बरु त्यहीँ गएर बस्थ्यौँ। त्यही पनि देखाइदिएन। अब हामीले कुनै हालतमा छाड्दैनौं’, उनले भने।
जाकिरले कर तिरेकाे रसिद।
जाकिरले उक्त जमिनको २०३० सालदेखि अहिलेसम्म नै तिरो तिर्दै आएका छन्। जाकिरको जमिन अगाडिबाट ३० फुटको पक्की सडक बनेको छ। यहाँको सडकबाट सियारी, शुद्धोधन गाउँपालिका र सिद्धार्थ राजमार्ग जोडिन्छ।
उनको जमिनसँग सटेको पछाडिपट्टिको जमिन लालबहादुरको हो। पक्की सडकमा जमिन जोड्नका लागि उनले जाकिरलाई दुःख दिइरहेको स्थानीय बताउँछन्। यहाँ अहिले जमिनलाई चर्को मूल्य पर्ने भएकाले पनि लालबहादुरले जाकिरको जमिनमाथि आँखा लगाएको स्थानीयको ठम्याइ छ।
करिब ७/८ महिनाअघि लालबहादुर जेसीभीसहित पुलिस लगेर जमिन खाली गराउन गएका थिए। तर स्थानीयले जमिन जाकिरकै भएको भनेर विरोध गरेपछि फर्किए। जाकिर परिवारले अब फेरि कानुनी उपचार खोज्ने बताएको छ।
‘अब हामी पनि ठूला भएका छौँ, जमिन हाम्रो हो भन्ने यहाँका सबै बासिन्दालाई थाहा छ। त्यसैले स्थानीय सबै हाम्रो साथमा हुनुहुन्छ। न्यायका लागि अझै लड्छौँ’, हफिजु रहमानले भने।

प्रतिक्रिया