समाज


८५ घरपरिवार भोकभोकै

८५ घरपरिवार भोकभोकै

नेपालखबर
भदौ १, २०७७ सोमबार ९:४०,

नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन्। मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो संक्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो।

यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसंख्या रहेको छ। दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन्। अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन्।

कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्ती पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए।

‘भएको रासन, पैसो सबै सकियो, काम गर्ने वातावरण पनि छैन’, उनले भने, ‘के गरेर गुजारा गर्ने हो भन्ने पीर छ।’

स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने आफूहरु कोरोना महामारीका कारण समस्यामा परेको उल्लेख गरे।

‘खाने कुरा पनि छैन, काम पनि छैन, समस्यामाथि समस्या थपिएको छ’, अपांगसमेत रहेका परियार भन्छन्, ‘कहीँकतैबाट खाद्यान्न सहयोग जुटाइदिनसके पुण्य काम हुनेछ।’

गत वैशाखमा वडा कार्यालयलगायतका संघसंस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले उनीहरु समस्यामा परेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले बताए।

उनले तत्काल वडा कार्यालयबाट सहयोग गर्ने अवस्था नरहे पनि विभिन्न संघसंस्थामा सहयोगका लागि आफूले पहल गरिरहेको बताए। यो बस्तीमा माइती नेपाल नेपालगन्जले पाँच दिनसम्म तयारी खानाको प्रबन्ध गरेको थियो।

कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएका नागरिकलाई तयारी खाना वितरण कार्यक्रम अन्तर्गत गायत्रीनगरका ३०० नागरिकलाई खाना खुवाएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।

आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरुलाई केही महिनाअघिमात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ। डेढदशकअघिदेखिको बसोबासको किचलो अन्त्य गर्दै उनीहरुलाई वडा कार्यालयले नजिकैको खाली जग्गामा सारेको वडाध्यक्ष कार्कीले बताए।

उनका अनुसार, वडा कार्यालयमार्फत उनीहरुलाई व्यवस्थितरुपमा जग्गा उपलब्ध गराएसँगै घर बनाउनका लागि रु ५० हजारसमेत प्रदान गरिएको थियो। वडा कार्यालयले उपलब्ध गराएको जग्गामा घर बनाएर बस्ने व्यवस्था मिलाइरहेका बेला कोरोना महामारी फैलिएपछि अहिले उनीहरुको विचल्ली भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad