समाज


नेकपाका केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

नेकपाका केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ०:४०,

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सर्लाहीको हरिवन निवासी ६८ वर्षीय नेता काफ्लेलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो। उनी नेकपा सर्लाहीको सह इन्चार्जसमेत हुन्।

समुदायमा संक्रमण फैलिएको आशंकामा हरिवन नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका चार सय २० जनाको स्वाब संकलन गरेको थियो। जनसम्पर्क धेरै हुने विभिन्न कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेता/कार्यकर्ताको स्वाब संकलन गरिएको हो।

त्यसमध्ये नेता काफ्लेसहित २२ जनामा कोरोना संक्रमण देखिएको मेयर गणेश प्रसाईंले जानकारी दिए। संक्रमण पुष्टि भएका केन्द्रीय सदस्य काफ्ले हाल हरिवनस्थित आफ्नै घरमा छन्।

‘मलाई संक्रमणको कुनै लक्षण देखिएको छैन। तर, राति मेयर गणेश प्रसाईंले फोन गरेर दाइ तपाईंको रिपार्ट पोजेटिभ आयो भनेर जानकारी गराउनु भयो,’ उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘रिपोर्ट पोजेटिभ आयो भन्ने खबर सुन्दा म आफैँ छक्क परेको छु, कसरी संक्रमित भएँ पत्तो छैन।’

आफूले स्वास्थ्य मापदण्डको पालना गर्दागर्दै पनि संक्रमण देखिएको उनले बताए। ‘निकै भयो म घरमै बसेको छु, बाहिरफेर पनि त्यति हिँड्दिन,’ उनले भने, ‘पार्टीका बैठक, कार्यक्रम पनि भएका छैनन्, भेटघाट पनि त्यति गर्दिन। तर, कसरी हो, संक्रमित भइसकिछु।’

उनले अब स्वास्थ्यकर्मीसँगको रायसुझाब लिएर होम आइसोलेसनमै बस्ने बताए। ‘स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले अहिले अस्पताल जान्न, घरमै स्वास्थ्य मापदण्ड पालना गरेर बस्छु,’ उनले भने।

यसअघि नेकपाकै सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई पनि संक्रमण देखिएको थियो। उनी हाल काठमाडौंमा होम आइसोलेसनमा बसिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad