ad ad

समाज


यो वर्ष गोकर्णेश्वर महादेव मन्दिरमा मेला नलाग्ने

यो वर्ष गोकर्णेश्वर महादेव मन्दिरमा मेला नलाग्ने

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:५५,

भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन भदौ ३ गते बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिए। मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न चैत ११ गतेदेखि नै बन्द गरिएपछि साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो। मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ।

बाबुको मुख हेर्ने दिन पिता दिवंगत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ। यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्र कृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ। मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो। यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।

अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ। उत्तरगयासमेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्ययुगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ। जसलाई महत्वका साथ पुजिन्छ। शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरेका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए। गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ। कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .