समाज


आज राति उल्का वर्षा हुँदै, हेर्न मौसम सफा हुनुपर्ने

आज राति उल्का वर्षा हुँदै, हेर्न मौसम सफा हुनुपर्ने

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:३९,

स्विफ्ट–टटल नामक पुच्छ्रेताराका कारण हुने उल्कावर्षा आज रातिबाट सुरु भई भोली बिहानसम्म देखिने छ।

सो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ।

हुन त स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन। तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यनजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षनजिक पुग्छ, तब ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्छन्। यसैलाई उल्का वर्षा भनिन्छ स्विफ्ट–टटलले सूर्यको एक पटक परिक्रमा गर्न १३३ वर्ष लाग्छ। 

उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ। 

‘उल्का वर्षा स्थानीय समयअनुसार आज राति साढे १० बजेदेखि बिहान ५ बजेसम्म देख्न सकिनेछ। तर बिहान ३–४ बजेदेखि चाहिँ अत्यधिक मात्रामा देख्न सकिनेछ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए, ‘राम्रोसँग देखिने–नदेखिने त्यतिबेलाको मौसमले निर्धारण गर्छ।’

निरन्तर मनसुनका कारण देशभर मौसम बदली रहेकाले उल्कापात हेर्न मौसम अनुकूल छैन।

जल तथा मौसम विज्ञान विभागले आज रात देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

वाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

साे अवधिमा प्रतिघण्टा १ सय ५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ। ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ।

यसवर्ष जुलाई १७ देखि नै सक्रिय उल्का वर्षा अगष्ट २६ तारिखसम्म सक्रिय रहनेछ। अत्यधिक उल्का वर्षा हुने अगष्ट १२ रातिदेखि अगष्ट १३ तारिखकाे बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्। तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र राम्रोसँग अवलोकन गर्न सम्भव हुनेछ।

के हो स्विफ्ट–टटल?
स्विफ्ट–टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट र होरस टटलद्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो। यसअघि सन १९९२ मा सूर्यनजिक आएको यो पुच्छ्रेतारा यसपछि सन् २१२५ मा मात्र नजिक आउनेछ।

हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्। यसलाई नै उल्कावर्षा भनिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad