जाजरकोटाको भेरी नगरपालिका-४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्याे।
खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उनले एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारे। फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए।
पैँतीस किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि एक हजार भाडा लाग्ने गर्छ। वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै चार सय भाडा लाग्ने दूरीमा अहिले एक हजार भाडा लिन थालिएको छ। बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा सञ्चालन हुन्छन्।
तर, खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिन्छन्। दुई किनारका काठको फलेकको सहयोगमा खोला तरेर अर्को जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका-८ का विष्णुकुमारी खत्रीले बताइन्। बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ। सोमबार मात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो।
जाजरकोट-डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन्। कुनै पनि खोलामा पुल निर्माण भएको छैन। पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन्। मोटरसाइकल तार्न प्रतिखोला एक हजार तिर्नुपर्ने बाध्यता छ।
खोलामा पानीको बहाव बढेसँगै खच्चडसमेत हिँड्न छाड्छन्। ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए। स्थानीय कमल पुनले भने, ‘यो खोलामा मैले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो। अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन।’
बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन्। रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन्। वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ। पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्दै आएका छन्।
धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए। रासस

प्रतिक्रिया