डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बुधबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य ३२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्रबहादुर मल्लका अनुसार कैलालीबाट अछामतर्फ जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बुधबार बिहान पौने ६ बजे दुर्घटनामा परेको हो।
‘दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन,’ डिएसपी मल्लले नेपालखबरसँग भने, ‘घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ। बाँकीको अवस्था खतरामुक्त जस्ताे देखिन्छ।’
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घाइतेहरुको उद्धारमा खटिएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए।
‘हामी घटनास्थलमै छौँ, घाइतेको उद्धार हुँदैछ। घाइतेको सङ्ख्या अधिक छ। बस सडकबाट ३० मिटर तल खसेको छ।’
वर्षाका कारण सडक चिप्लो भएकाले बस दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ।
Shares

प्रतिक्रिया