समाज


हेटौँडा–काठमाडौँ जोड्ने चारवटै छोटा सडक अवरुद्ध

हेटौँडा–काठमाडौँ जोड्ने चारवटै छोटा सडक अवरुद्ध

सुनिता विष्ट
असार ३०, २०८३ मंगलबार ८:६, काठमाडौँ

हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटो दूरीका सबै सडक बाढी-पहिरोको कारण अवरुद्ध बनेका छन्

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडक अर्को सूचना जारी भएसम्मका लागि बन्द गरेको छ भने अन्य तीनवटा सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध बनेका छन्। 

हेटौँडादेखि भैँसै–भीमफेदी सडकखण्डम ठाउँ–ठाउँमा पहिरो गएका कारण सबै सवारीलाई हेटौँडा बजार क्षेत्रमै होल्ड गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भैँसे–पालुङ–नौबिसे सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। भैँसेदेखि सिमभञ्ज्याङसम्मका विभिन्न स्थानमा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको हो। 

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा पर्ने सुकौराको पहिरो राति नै हटाइसकिएको छ। तथापि, पहिरोको जोखिम कायमै रहेकोले तत्काललाई सवारी आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ।

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा आएको बाढीले सवारी आवागमनलाई असहज बनाएपछि त्यहाँ पुगेका सवारीलाई रातभर होल्ड गराइएको थियो।

मंगलबार (आज) केहीबेर अघिबाट बीचमा रोकिएका साना सवारीलाई सिस्नेरीबाट पास गराउन सुरु गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।



प्रहरीका अनुसार हालका लागि हेटौँडा–काठमाडौँ आउजाउ गर्न सिन्धुलीको सडक र नारायणगढको सडकको लागि मात्रै अनुमति दिइएको छ। त्यसबाहेकका सबै सडक सञ्जालहरूमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको जोखिम रहेपनि हेटौँडा हुँदै जाने सवारीहरुलाई होल्ड गरिएको छैन। तर चितवन प्रशासनले भने अहिले नारायणगढ–मुग्लिङ सडमा पनि गाडी चल्न दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad