समाज


चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कताका लागि २४ घण्टे चेतावनी

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कताका लागि २४ घण्टे चेतावनी

नेपालखबर
साउन २६, २०७७ सोमबार १:१४,

आज (सोमबार) देशभर केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

उसो त अहिले (यो खबर लेखिरहेका बेला सोमबार बिहान ६:३० बजे) पनि सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘राति कतै-कतै भारी वर्षा पनि भएको छ,’ नेपालखबरसँग नगरकोटीले भनिन्, ‘त्यही वर्षा अहिले कम हुँदै गएको हो।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि रातभर हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। अघि बिहान ६ बजे मात्र रोकिएको हो। काठमाडौंमा १६.७ मिलिमिटर वर्षा भएको छ।

‘काठमाडौं उपत्यकामा दिउँसो केही बेर घाम लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘त्यसपछि पुनः बदली भई क्षणिक वर्षा हुने अनुमान छ।’

मौसमविद् नगरकोटीका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सोमाबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ-

‘दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’

यस्तै राति पनि देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा बागमती, प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखालो भनेको छ-

‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसमविद् नगरकोटीका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालको पश्चिमको दक्षिणतिर केही नजिक भएको छ भने पूर्वतर्फ यो रेखा नेपालभन्दा टाढै छ। जसले गर्दा पूर्वको तुलनामा पश्चिमतर्फ वर्षा अलि बढी हुने सम्भावना देखिएको हो। ‘तर मनसुनी हावा पूर्वबाटै आउने भएकाले पूर्वमा पनि पानी त पर्छ।’

मनसुनको न्यून चापीय रेखा भारतको डेलीदेखि बंगालको उत्तरी भूभागसम्म फैलिनुलाई त्यसको औसत स्थान मानिन्छ। जुन रेखा नेपालको पश्चित दक्षिणमा अहिले औसतभन्दा केही उत्तर (नेपालतर्फ) आएको छ भने पूर्वतर्फ चाहिँ औसतभन्दा दक्षिण नै छ।

‘तर यो तलमाथि भइरहने हुन्छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘पश्चिमतर्फ यो रेखा अझै नेपाल नजिक हुने सम्भावना देखिएको छ।’ 

मौसमविद्का अनुसार यो रेखा जति नजिक भयो उति वर्षा बढ्छ। अहिले मनसुनका बेला ५० मिलिमिटर वर्षा भयो भने भारी तथा सय मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad