ad ad

समाज


आईजीपी थापाले सार्वजनिक गरे कार्ययोजना, प्रदेश र विभागीय प्रमुखसँग कार्यसम्पादन सम्झौता

आईजीपी थापाले सार्वजनिक गरे कार्ययोजना, प्रदेश र विभागीय प्रमुखसँग कार्यसम्पादन सम्झौता

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:२९,

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्।

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न उनले ‘नेपाल प्रहरीको कार्ययोजना–२०७७’ आइतबार सार्वजनिक गरेका हुन्।

नेपालको संविधानबमोजिम, नेपाल प्रहरी संगठनको पुनर्संरचना, सुदृढीकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको थापाले बताए।

प्रहरी प्रधान कार्यालयमा कार्ययोजना सार्वजनिक गर्दै उनले कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को विद्युतीय माध्यमबाट शुभारम्भ समेत गरे।

सोही अवसरमा उनले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उनले सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भिडियो कन्फ्रेन्समार्फत् कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्ययोजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको कार्ययोजनाले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने बताए।

नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान कार्ययोजना सहयोगी हुने विश्वास उनको छ।

सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्ने अवधारणाअनुरुप कार्ययोजना तय गरिएको आईजीपी थापाले बताए।

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील र विनयी भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘संयमित हुनु जरुरी छ तर डराउनुपर्दैन।’

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन दिए।

प्रदेश प्रमुखहरूले एकआपसमा समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रदेशअनुसारको मौलिक कार्ययोजना बनाई प्राथमिकताका साथ अगाडि बढ्न निर्देशन दिए। सीमा क्षेत्रको तस्करी रोक्न सरोकारवाला निकायहरूसँग समन्वय गरी तत्काल कार्यान्वयनमा लैजान समेत उनको निर्देशन छ।

नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रमा आम नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको प्रधान कार्यालयले जनाएको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .