समाज


सुत्केरी मृत्यु प्रकरण : पीडित परिवारलाई मनाउन गुण्डाको प्रयोग, दोषीलाई कारबाही नगर्ने सर्तमा पाँच लाखमै मिल्यो कुरो

सुत्केरी मृत्यु प्रकरण : पीडित परिवारलाई मनाउन गुण्डाको प्रयोग, दोषीलाई कारबाही नगर्ने सर्तमा पाँच लाखमै मिल्यो कुरो

शैलेन्द्र महतो
साउन २४, २०७७ शनिबार ७:२,

जनकपुरको रामजानकी अस्पतालको चरम लापरबाहीले सुत्केरीको मृत्यु भएको घटना पाँच लाख रुपैयाँमा मिलेको छ।

अस्पतालले पाँच लाख रुपैयाँ दिने सर्तमा दोषीमाथि कुनै प्रकारको कारबाही नगर्ने दुबै पक्षबीच सहमति भएको हो। सहमति पश्चात परिवारले शनिबार बिहान शव उठाएका छन्।

बिहीबार राति ‘ओ’ पोजिटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा रामजानकी हस्पिटलमा महोत्तरीको गौशाला नगरपालिका ११ बस्ने भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो।

मृतककै पति राजकिशोर महतोले नै अस्पताल र रेडक्रसको चरम लापरबाहीले श्रीमतीको मृत्यु भन्दै क्षतिपूर्तिका साथमा दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

मृतक परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाउँदासम्म शव नउठाउने अडान लिएका थिए।

शुक्रबार अस्पताल र मृतक परिवारबीच भएको वार्तामा क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने कुरा नमिलेपछि स्थगित भएको थियो। त्यसैले पीडित परिवारले मुचुल्का गराई शवसमेत उठाउन मानेनन्।

तर, राति फेरि अस्पताल र मृतक परिवारले ५ लाख रुपैयाँमा घटनालाई ढाकछोप गर्ने सहमति गरेको छ।

पीडित परिवारलेसमेत अस्पतालको लापरबाहीले नभइ भवितव्य घटना भएकोले अस्पतालको कुनै प्रकारको दोष नरहेको प्रहरीमा जाहेरी दिने सहमति गरेको बुझिएको छ। सहमतिपश्चात शवलाई पोष्टमार्टमक लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

फरक रगत चढाउँदा प्रहरीले पक्राउ गरेको दुईजना डाक्टरसमेत रिहा भइसकेका छन्। जमानतमा दुबै जना डाक्टरलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मगेन्द्र विष्टले बताए।

पोस्टमार्टम रिपोर्टम रिपोर्ट नआएसम्म दोषीहरुमाथि कुनै प्रकारको काबराही गर्न नसकिने उनले बताए।

‘पीडित परिवारले नै यो घटनालाई कमजोर बनाइदियो। भवितव्य ज्यान मुद्दा दर्ता गराउँदै छ। हामीले कारबाही गर्न आधार चाहियो’, डीएसपी विष्टले नेपालखबरसँग भने, ‘अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यो घटनाको विषयमा केही गर्न सकिन्छ।’

यता पीडित परिवारतर्फका राजेश महतोले अस्पतालमा आफूहरु असुक्षित महसुस गरेपछि सहमति गरेको बताए।

‘अस्पतालले गुण्डा बोलाएर घटना लिमाउने पर्ने भन्दै धक्की दिने र तर्साउने काम गर्यो। हामी असुरक्षित थियौं। कसैले सुरक्षा दिएनन्। बाध्य भएर ५ लाख रुपैयाँमा हामी घटनालाई मिलायौं’, महतोले भने।

बिहीबार राति सुत्केरीको मृत्यु हुँदा अस्पतालले शुक्रबार बिहानै आफ्ना गुण्डाहरु बोलाएर धम्की दिँदै शव उठाउन भनेको पीडित परिवारको गुनासो छ।

फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएको अस्पतालले नै स्वीकारेको छ। तर, यस्तो चरम लापरबाही र गम्भीर प्रकृतिको घटना ढाकछोप गर्न लाग्दा पनि प्रशासनले खासै चाँसो देखाएको छैन।

रामजानकी अस्पतालमा चरम लापरबाहीको घटना यो भने पहिलो होइन। पटक–पटक यस अस्पतालमा चरम लापरबाहीले बिरामीको मृत्यु हुने गरेको छ। जुन घटनाहरुलाई अस्पतालले प्रहरी प्रशासनको सेटिङमा पैसा र पावरको बलमा ढाकछोप गर्दै आएको छ। प्रशासनले समेत यसमा चाँसो दिएको देखिँदैन।

गत वर्ष ५ साउन २०७६ मा मात्रै यस अस्पतालमा बढी पैसा कमाउने चक्करमा समान्य बिरामीलाई अत्यधिक र कडा औषधि प्रयोग गर्दा मृत्यु भएको थियो। धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको अस्पतालकै चरम लापरवाहीले मृत्यु हुँदा हंगामा भएको थियो। सो घटनामा पनि अस्पतालले प्रहरी प्रशासनकै मिलेमतोमा मृतक परिवारलाई ४ लाख रुपैयाँमा लिएर घटना ढाकछोप गरेको थियो।

त्यसयता पनि अस्पतालमा बेलाबेला चरम लापरवाहीको कारण बिरामीहरुको मृत्यु हुने गरको छ। तर, अस्पतालले राजनीति शक्ति र पैसाको आडमा घटनाहरुलाई ढाकछोप गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .