समाज


कन्काई नदी गाउँतिर सोझिएपछि ७ गाउँका बासिन्दा रातभर जाग्राम

कन्काई नदी गाउँतिर सोझिएपछि ७ गाउँका बासिन्दा रातभर जाग्राम

नेपालखबर
साउन २१, २०७७ बुधबार ०:४६,

कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएका कारण झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी साता गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्।

बाढी आउँदा डुबाउला भन्ने चिन्ता, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको हो । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर बताउँछन् । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने।

इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्छ । हरेक बर्खा नदीले ठूलो मात्रामा जनधन क्षति गर्ने गरेको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गरेर कन्काई नदीले सयौं बासिन्दालाई घरबारविहीन बनाइसकेको छ।

स्थानीयका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पु¥याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको हो । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पांग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुन सक्ने त्रास उत्पन्न भएको छ।

अहिले नै गंगाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित दर्जन परिवारको धानखेत कटानले क्षति गरिसकेको छ । अन्न फलाउने खेत बगर भइसकेको छ । अरू कैयौं किसानको खेतमा क्षति पुर्याउने क्रम जारी छ । कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीय बताउँछन् । खोला गाउँतिर सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीय तेजबहादुर कुँवरले बताए ।

नगरपालिकाका वडा सदस्य चन्द्र संग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गरेका छन्। नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad