स्वास्थ्य अनुसन्धान परिषदले १२ वटा अस्पताललाई प्लाज्मा थेरापी विधिबारे अनुसन्धान गर्न अनुमति दिएको छ। नेपालमा पहिलो पटक यो विधिको प्रयोग गरी कोरोना संक्रमितको सफल उपचार भएपछि अस्पतालहरुलाई अनुसन्धानका लागि अनुमति दिइएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ६० वर्षीय एक कोरोना संक्रमितलाई प्लाज्मा थेरापी गरिएको थियो। गम्भीर अवस्थामा अस्पताल पुगेका ती पेसाले चिकित्सक संक्रमितको स्वास्थ्यमा २४ घण्टाभित्रै उल्लेख्य सुधार आएको अस्पतालले आएको छ। केही दिनभित्रै उनलाई समान्य वार्र्डमा सार्न सकिने अस्पतालले जनाएको छ।
‘प्लाज्मा थेरापीबाट उपचार गर्दा गम्भीर अवस्थाका संक्रमितमा राम्रो प्रभाव देखिएको छ। विभिन्न अस्पतालहरुलाई प्लाज्मा थेपारीका लागि अनुमति दिएका छौं,’ परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा पुगेको बिरामीलाई प्लाज्मा थेरापी उपचार हुन्छ। यस विषयमा नेपालमा थप अनुसन्धान हुन्छ।’
परिषदले नौ सरकारी र तीन निजी क्षेत्रको अस्पताललाई प्लाज्मा थेरापीको अनुसन्धान अनुमति दिएको हो।
अनुमति पाउनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी प्रादेशिक अस्पताल विराटनगर, नारायणी प्रदेशिक अस्पताल वीरगञ्ज, धुलिखेल अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज सरुवा रोग अस्पताल टेकु, मेडिसिटी अस्पताल नख्खु, ह्याम्स अस्पतालमा धुम्बाराही, ग्रान्डी अस्पताल धापासीलाई प्लाज्मा थेरापीका लागि स्वीकृति दिएको परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले बताए।
त्यसैगरी अनुमति पाउने अन्य अस्पतालहरुमा नेपालगञ्ज मेडिकल कलेज, भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज, सेती प्रदेशिक अस्पताल धनगढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला छन्।
‘प्लाज्मा थेरापीको अनुसन्धानमा सहभागी हुन आह्वान गरेका थियौं। विभिन्न अस्पतालमा चासो व्यक्त गर्नु भएको थियो। जनशक्ति र क्षमतालाई ध्यान दिएर अनुमति दिएका छौं,’ धिमालले भने।
परिषदले कोरोना संक्रमित भई निको भइसकेकाहरुलाई प्लाज्मा दान गर्न आह्वान पनि छ। जसले गम्भीर अवस्थाका बिरामीको उपचारमा सघाउ पु¥याउँछ।
‘प्लाज्मा दान गर्न २५ जना कोरोना निको भएका व्यक्तिहरु सम्पर्कमा आउनु भएको छ,’ सदस्य सचिव ज्ञवालीले भने, ‘संक्रमित भएर निको हुनु भएको धेरैभन्दा धेरैलाई प्लाज्मा दान गर्नुभयो भने अनुसन्धानमा सहयोग पुग्छ।’
संक्रमण निको भएको दुई महिनाभित्र प्लाज्मा दिनुपर्ने हुन्छ। कम्तीमा १८ वर्ष उमेर पुगेका व्यक्तिबाट मात्रै रगत लिने गरिन्छ। रगतमा हुने पहेँले तरल पदार्थ नै प्लाज्मा हो। रगतमा प्लाज्मा ५५ प्रतिशत हुन्छ।
निको भएका व्यक्तिबाट प्लाज्मा लिएर संक्रमितको शरीरमा चढाउँदा त्यसले भाइरससँग लड्ने एन्टीबडी बढाउँछ। तर, दान गर्ने व्यक्ति र लिने व्यक्तिको रगत समूह भने एउटै हुनुपर्छ।
Shares

प्रतिक्रिया