ad ad

समाज


संखुवासभाका चार हिमताल फुट्ने खतरा, सतर्क रहन आग्रह

संखुवासभाका चार हिमताल फुट्ने खतरा,  सतर्क रहन आग्रह

भविन कार्की
साउन १७, २०७७ शनिबार ७:२२,

संखुवासभाका चार हिमताल जोखिममा रहेका छन्।

संखुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले जनाएको छ।

ईसीमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ। संखुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ। तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए। कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ।

नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उहाँले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए। जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उनले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए।

तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए। उनले निकट भविष्यमै सरोकारवाला संघसंस्थासँग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपंक्तिमा रहने प्रतिवद्धता व्यक्त गरे।

वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो। यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनियरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए। हितालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ।

 अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ। यो हिमताल विस्फोट भएमा संखुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई ईसीमोडले आग्रह गरेको छ।

हिमताल फुट्ने महिना
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ। उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो।

हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने ईसीमोडका डा अरुणबहादुर श्रेष्ठले बताए। उनले भने, ‘हिउँ पग्लेर तालको पानी अधिकतम् तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ।’ नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन्। विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्यांक छ।

जोखिम छ, पूर्वतयारी छैन
जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ। सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ।

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ। सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन्। विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नुपर्नेमा प्रबन्धक राईको जोड छ। ‘त्यो भनेको हिमतालहरूको नियमित अनुगमन र पूर्वसूचना प्रणाली स्थापना हो’, उनले भने, ‘त्यसका लागि चाहिने सहयोग जुटाउन सकिन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .