एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीको उद्धार भएको छ। उनलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको हो।
एक वर्षअघि घाँस काट्न गएको बेला रुखबाट लडेर गम्भीर घाइते बनेकी खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मंगलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको छ।
रुखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले जानकारी दिइन्।
‘समयमै जानकारी पाएको भए चीनमायालाई अलि छिटो उपचार गर्न सकिन्थ्यो’, राईले भनिन्, ‘ढिलै भए पनि उनलाई गाडी रिजर्भ गरेर राजधानी काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ। मलाई चिकित्सा विज्ञानसँग भरोसा छ। उनको रोग निको हुनेछ।’
रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेलगत्तै थलापरेकी उनको शरीर अहिले अनौठो देखिएको छ। शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएर रित्तो भाँडोजस्तै देखिन्छ।
उद्धार गरेर घरमा पु¥याउनासाथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । उनको कम्मरमुनिको भाग पूर्णरूपमा चल्न छोड्यो । हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पुर्याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए।
ओखलढुङ्गा र काठमाडौँमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी÷झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ। घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्नसक्ने भए पनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।
घरायसी उपचारपछि उनले खानेकुरा खाए पनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चीनमायाकी आमा खड्गमाया अधिकारी खत्रीले बताइन्। ‘खाना जति खाए पनि पेटमा अडिन्न। खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर पेट सधैँ खाली र रित्तो हुने गरेको छ,’ आमा खड्गमायाले भनिन्।
चीनमायाका बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि आमा खड्गमाया अहिले सबै काम छाडेर छोरीको स्याहार/सुसारमा दिनरात बिताउछिन्। बिरामी छोरी चीनमायाको स्याहार/सुसारमा दिनरात खटिँदै आएकी आमा खड्गमायाले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन दाताहरुसँग अपिल गरेकी छन्।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली काँग्रेसका युवानेता राजकुमार राईले बताए।

प्रतिक्रिया