समाज


पोखरीमा डुबेर ज्यान गुमाउने ३ बालकका परिवारलाई १०/१० लाख दिने सहमति

पोखरीमा डुबेर ज्यान गुमाउने ३ बालकका परिवारलाई १०/१० लाख दिने सहमति

नेपालखबर
साउन ९, २०७७ शुक्रबार २:२७,

भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकका परिवारलाई दश/दश लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।

निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर बुधबार साँझ तीन बालकको मृत्यु भएको थियो।

उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन्। भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका छन्।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावालामा बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो।

अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो।

थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा विहीबार दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए। छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई परियोजनामा रोजगारीको व्यवस्था गर्ने, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना दोहोरिन नदिन निर्माणस्थलमा सुरक्षाको व्यवस्था गर्ने, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज गर्ने र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहतलगायतको सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडाध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ का सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad