समाज


पहिरोले बाटाे अवरुद्ध भएपछि सडकमै सुत्केरी

पहिरोले बाटाे अवरुद्ध भएपछि सडकमै सुत्केरी

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १:२४,

प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा बागलुङकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन्।

बडिगाड गाउँपालिका-१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका-३ खहरेमा शिशुलाई जन्म दिएकी हुन्।

पहिराले सडक अवरुद्ध हुँदा पैदलै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिए। घर्तीले बिहीबार छोरी जन्माएकी छन्।

‘गाडी नचलेपछि उहाँहरु अलपत्र पर्नुभएको रहेछ, हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु पर्‍याे,’ स्वास्थ्यकर्मी केसीले भने, ‘म लगायत स्थानीय आमासमूह मिलेर उहाँको उद्धार र तत्काल गर्नुपर्ने स्याहार गर्‍याैँ।’

नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उनले बताए। गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो। ‘शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ’, केसीले भने, ‘उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ।’

शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पुर्‍याइएको थियो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए। ‘आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमा हुनुहुन्छ, म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने।

बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए। अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो। निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad