छापा खबर


सुत्केरी बेथाले च्यापेकी महिलालाई बच्चा जन्माउन तीन जिल्ला घुमाइयो

सुत्केरी बेथाले च्यापेकी महिलालाई  बच्चा जन्माउन तीन जिल्ला घुमाइयो

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ०:५७,

सुत्केरी बेथाले च्यापेपछि बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ल मंगलबार राति धौलागिरि अञ्चल अस्पतालमा पुगिन्। साँझ ५ बजेदेखि बेथा लागेको थियो। अस्पताल पुग्दा रातको १२ बजेको थियो।

अस्पतालका स्वास्थ्यकर्मीले गर्भ ९ महिना पूरा नभएको र उल्टो बसेको बच्चा निकाल्ने डाक्टर नभएको भन्दै तत्कालै पोखरा रिफर गरे। हतारहतार ट्याक्सी खोजेर उनलाई पोखरातर्फ दौडाइयो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा बनीबाट सन्तोष गौतमले लेखेको समाचार अनुसार पर्वतको कुश्मा २ नयाँपुलमा पहिरो खसेकाले उनीहरु अघि बढ्न सकेनन्।

‘त्यो अवस्थाको पीडा र छटपटि सम्झँदा पोखरासम्म पनि पुगिएला जस्तो लागेको थिएन्,’ मल्लले भनिन्, ‘फेरी बागलुङ जाउँ भने रिफर गरिसकेकाले उपचार गर्लान भन्ने लागेन् । नजिकै कुश्माको अस्पताल पुग्ने बाटो पनि थिएन् । यसअघि मेरो जस्तै समस्या भएकाको बेनीमा अपरेसन गरेर सुत्केरी गराएको सुनेकाले आशा गरेर यता आएका हौं।’

राति २ बजे बेनी अस्पताल ल्याउँदा बच्चाको खुट्टा पाठेघरबाट बाहिर निस्किसकेको थियो। २१ वर्षीया मल्ल पहिलो पटक सुत्केरी भएकी हुन्। बिहान ३ बजे बच्चा निकालिएको थियो। ९ महिना नपुगेको र बच्चा उल्टो भएको अवस्थालाई चिकित्सकले जोखिमयुक्त मान्छन्।

‘परिवारका सदस्यलाई अवस्था जटिल भएकाले आमा र बच्चा मध्ये एकजनालाई बचाउन सकिने जानकारी गरायौं। साथमा गर्भजाँच गराएको कागजपत्र पनि थिएन्,’ बेनी अस्पतालका डाक्टर सागर लामिछानेले भने, ‘परिवारका सदस्यको अनुमतिमा जोखिम मोलेर शल्यक्रियामा जुटेका थियौं। अन्तत दुवैलाई बचाउन सफल भयौं।’।

मल्लले सुत्केरी हुन बागलुङ, पर्वत र म्याग्दी तीन जिल्ला घुम्नु परेको हो । मल्ल र छोराको स्वास्थ्य सामान्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad