समाज


‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले किसान उत्साहित

‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले किसान उत्साहित

नेपालखबर
साउन ८, २०७७ बिहिबार ३:४,

‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन्।

दुई/चारवटा बाख्रा पाल्दै आएका किसान पनि बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन्। यसबाट व्यावसायिकरुपमा बाख्रापालन गर्नेको संख्या बढ्न थालेको छ।

बाँकेको नरैनापुर गाउँपालिका-६ गङ्गापुरस्थित कोहोला गाउँमा बाख्रा स्मार्ट कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताए। कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको छ।

कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन्।

बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा गत आर्थिक वर्षदेखि बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले जानकारी दिए।

बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट बनाउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिँचाइ स्मार्ट, बजार स्मार्ट र अन्तर्सम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भइरहेको अधिकारीले बताइन्। बाख्रा स्मार्ट गाउँका लागि प्रदेश सरकारले शुरुको वर्ष ५० लाख लगानी गरेको छ भने २० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानलेनै लगानी गरेका छन्।

‘बाख्रा स्मार्ट गाउँका लागि दोस्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र चार वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानीय सरकार तथा सम्बन्धित किसानलाई हस्तान्तरण गर्ने योजना रहेको छ,’ उनले भनिन्, ‘बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन्। बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ।’

बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधोपचारका लागि पनि किसान उत्साहका साथ लागि परेको छन्। कार्यक्रम शुरु भएपछि दिन प्रतिदिन किसान बाख्रापालनतर्फ आकर्षित भएको बाँकेको नरैनापुर गाउँपालिकास्थित कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खानले बताए।

प्रत्येक मंगलबार बाख्रा बिक्रीको लागि बजार लगाउने र बाख्राको मलबाट व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँमा अहिले पाँच सय भन्दा बढी बाख्रापालन गरिएको खानले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad