समाज


प्रदेश नं २ः तीन बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

प्रदेश नं २ः तीन बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

नेपालखबर
साउन ७, २०७७ बुधबार १०:३७,

केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ। भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन्। म‌ंगलबार बिहान सो खोलामा पौडी खेल्न भएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन्।

यसैगरी महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका – ६ सङ्ग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरलाई बगाएको छ। यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन्।

यस्तै सर्लाहीमा वाग्मती नदीले बगाएका दुई जनाको उद्धार गरिएको छ। वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको हो। नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो।

अविरल वर्षा र बाढीका कारण प्रदेश २ का विभिन्न जिल्लाका ६९ परिवारका मानिस विस्थापित भएको प्रदेश कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले राससलाई बताए। अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ।

बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडौँको क्षति भएको छ। पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा र सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको सय बिघाभन्दा बढी धानबाली नष्ट गरेको छ।

यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ। बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ। हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ।

पर्साको सिंगाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad