सर्लाहीका टाटासुमोले लकडाउन खुकुलो भएको मौकामा तेब्बर बढी भाडा असुलेर यात्रु ओसार्ने गरेका छन्।
लालबन्दी, हरिवन लगायतका ठाउँबाट सञ्चालन हुँदै आएका टाटासुमो तथा ठूला बसले चर्को भाडा असुलेर यात्रुलाई काठमाडौँ, पोखरा लाने÷ल्याउने गर्न थालेका हुन्।
टाटासुमोले काठमाडौं आवतजावत गर्दा यात्रुसँग २५ सय देखि तीन हजारसम्म भाडा लिँदै आएका छन् भने बसले पनि सोहीअनुसार भाडा असुलिरहेका छन्। अरुबेला टाटासुमोले लालबन्दीबाट काठमाडौँसम्मको भाडा एक हजार लिने गरेका थिए भने बसले ६ सय ५० लिने गरेका थिए।
बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाकाहाकी यात्रु ठग्ने काम गरिरहेको एक स्थानीयवासीले गुनासो गरेका छन्। अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भए पनि काठमाडौँ, पोखरा गइरहेका छन्। तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ।
‘टाटासुमोले यात्रु ओसारपसार गरिरहेकोबारे मलाई जानकारी छैन, कसैले त्यसो गरिरहेको भए अवैध हुनेछ’, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने।
यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्नेसमेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ। यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिकजस्ता साना यात्रुवाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेको गुनासो यात्रुहरुले गरेका छन्।
यातायात व्यावसायीले भने पास लिने क्रममा चार हजारदेखि सात हजारसम्म शुल्क तिर्नुपरेका कारण भाडा बढेको बताएका छन्। यसबारेमा सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ। रासस

प्रतिक्रिया