कारोबार


‘एक व्यक्तिलाई एक कम्पनीको दुई सिमकार्ड मात्र’ कार्यान्वयनमा अप्ठ्यारो

‘एक व्यक्तिलाई एक कम्पनीको दुई सिमकार्ड मात्र’ कार्यान्वयनमा अप्ठ्यारो

सन्तोष न्यौपाने
साउन ७, २०७७ बुधबार ६:३,

नेपाल दूरसञ्चार प्राधिकरणले एउटा मोबाइल सेवा प्रदायकले एकै व्यक्तिलाई दुईभन्दा धेरै सिमकार्ड दिन नपाउने व्यवस्था गरे पनि कार्यान्वयनमा अप्ठ्यारो देखिएको छ।

प्राधिकरणले असारको दोस्रो हप्ता उक्त निर्णय गरेर कार्यान्वयन गर्न सेवा प्रदायकलाई निर्देशन दिए पनि कम्पनीहरुको सबै काउन्टरमा विवरण नहुँदा अप्ठ्यारो भएको बताएका हुन्।

अहिलेसम्म वितरण गरिसकेका सिमको हकमा के गर्ने र अब त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमै कम्पनीहरु अन्योलमा परेका छन्।

दुईभन्दा धेरै सिम नदिने भन्ने निर्देशन कसरी लागू गर्ने भन्ने अध्ययन भइरहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

‘हामीले कसरी लागू गर्ने भन्नेमा अध्ययन गरिरहेका छौँ’, जोशीले भने, ‘यो छिटै लागू हुनसक्ने होइन। यो लागू गर्न सजिलो छैन।’

सेवा प्रदायकले मुलुकभर वितरण भइरहेका सिमको विवरण एकै ठाउँमा आउने सिस्टम नै छैन। कुनै ग्राहकले पूर्वबाट सिम किनेको छ भने मुलुकभरका काउन्टरमा त्यो विवरण उपलब्ध हुँदैन।

काठमाडौंमा आएर किन्दा कुनै ग्राहकले पहिले लिएको छ कि छैन भन्ने काउन्टरलाई थाहा नहुने जोशीले बताए।

विभिन्न ठाउँमा लिएका सिमको विवरण सबैतिर हेर्न मिल्ने बनाउन अहिले अध्ययन गर्नुपर्ने देखिएको जोशीको भनाइ छ।

टेलिकममा कुनै ग्राहकले सिम लिन चाहे उसले पहिले लिएको छ कि छैन भनेर हेर्न सकिने अवस्था सबै ठाउँमा छैन।

त्यस्तै, अहिलेसम्म वितरण भइसकेका सिमलाई कसरी व्यवस्थित गर्ने भन्ने अर्को ठूलो समस्या छ। धेरैले आफ्ना मोबाइल, आइप्याडजस्ता अनेक ग्याजेटमा प्रयोग गर्न दुईभन्दा धेरै सिम प्रयोग गरिरहेका छन्।

त्यस्तै, एनसेल, स्मार्ट टेलिकमहरुले विभिन्न अफरमार्फत चारवटासम्म सिम एउटै व्यक्तिलाई उपलब्ध गराएका थिए। त्यसरी किनिएका सिम आफैँ र कतिले साथीलाई पनि प्रयोग गर्न दिएका छन्।

ती सिमको हकमा कसरी व्यवस्थित गर्ने भन्ने अन्योलमा सेवा प्रदायक छन्।

सरकारले अपराध रोक्न नसक्ने तर त्यसैको नाममा सिम वितरण रोक्ने काम गरेको भन्दै प्राधिकरणको निर्णयको आलोचना समेत भएको छ। यो नियम व्यावहारिक नभएको एनसेलका एक अधिकारीले बताए।

‘अपराध रोक्ने नाममा सिम वितरण रोकेर हुँदैन’, उनले भने, ‘यसले कतिपय ग्राहकलाई अप्ठ्यारो पर्छ।’

त्यस्तै विदेशमा काम गर्न गएका लाखौं नेपालीहरु वर्ष, दुई वर्षमा नेपाल फर्किन्छन्। विदेशिएका नेपालीले पहिलाको सिम हराएको वा घरमा छोडेका हुन्छन्। उनीहरुले हरेक पटक नेपाल आउँदा एयरपोर्ट मै नयाँ सिम किनिरहेका हुन्छन्।

प्राधिकरणकै तथ्यांक हेर्ने हो भने पनि नेपालको जनसंख्याभन्दा धेरैले मोबाइल प्रयोग गरिरहेको देखिन्छ। प्राधिकरणको वैशाख महिनाको तथ्यांकअनुसार ३ करोड ७८ लाख ५४ हजार ७ सय ८६ सिम वितरण भइसकेका छन्।

त्यसमध्ये नेपाल टेलिकमको जीएसएम मोबाइलको सिम १ करोड ७७ लाख ५० हजार र एनसेलको १ करोढ ६२ लखा ९२ हजार सिम वितरण भएका छन्। त्यस्तै, स्मार्ट टेलिकमको २१ लाख ३० हजार वितरण भएको तथ्यांकमा उल्लेख छ।

नियामक निकाय प्राधिकरणले असार ११ गते उक्त निर्णय गर्दै एक सेवा प्रदायकले एक व्यक्तिको नाममा दुईवटा मात्र सिम वा रिम कार्ड दिनसक्ने नीति ल्याएको थियो।

सीडीएमएजस्ता अन्य सेवा पनि प्रयोग गरिरहेको नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिको नाममा ३ वटा सिम वा रिम प्रयोग गर्न पाइनेछ। त्यस्तै, नाबालिगले अभिभावकको अनुमतिमा एउटा मात्र सिम आफ्नो नाममा झिक्न पाउनेछन्।

एउटै व्यक्तिको नाममा धेरै सिम प्रयोग हुँदा दुरुपयोग हुनसक्ने, आपराधिक क्रियाकलापमा प्रयोग हुनसक्ने र सुरक्षाको खतरा हुनसक्ने भएकाले यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

साथै, एक जनाको नामको सिम अरुले प्रयोग गर्दा गोपनीयता बाहिरिन सक्ने सम्भावना पनि रहने प्राधिरणको तर्क छ।

दुईभन्दा धेरै सिम लिइसकेको विषयमा भने के गर्ने भन्नेबारे प्राधिकरणले स्पष्ट पारेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad