काठमाडौँ उपत्यकामा गए राति भारी वर्षा भएको छ।
देशैभरी वर्षा कम हुँदै गए पनि काठमाडौँ र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको हो।
माठमाडौँमा पछिल्लो २४ घण्टामा करिब ५० मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘अहिलेसम्मको रेकर्ड अनुसार काठमाडौँ उपत्यकामा ४९।३ मिलिलिटर वर्षा भएको छ, तर यो वढ्ने क्रममा छ,’ मौसमविद् विभूती पोखरेलले नेपालखबरसँग भनिन्, ‘अहिले काठमाडौँको आकाशमा बादल लागेको छ। तर, यो दिउँसो खुल्छ, साँझपख पुनः पानी पर्न सक्छ।’
वाढी पूर्वानुमान महाशाखाले भारी वर्षाको कारण काठमार्डाैँ उपत्यकाको बागमती, हनुमन्ते, मनहरा, विष्णुमतीलगायतका नदी र स–साना खोलाहरूमा बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।
नदी तटिय क्षेत्रमा बस्ने नागरिक र यात्रुलाई जोखिम हुन सक्ने भएकाले महाशाखाले सचेत रहन आग्रह गरेको हो।
त्यस्तै ईलाम, झापा, मोरङ, धनकुटा, सिन्धुली, ओखलढुङगा, मकवानपुर जिल्ला र प्रदेश २ को चुरे र पहाडबाट बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको संभावना रहेकाले सचेत रहन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बिहीबार देशका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा बदली भएर सामान्यदेखि भारी वर्षा भए पनि अबिरल वर्षाको संभावना नरहेको मौसमविद् पोखरेलले बताइन्।
पश्चिमतिरको आकाश अहिले सफा छ। ‘दिउँसोपख पश्चिमतिर सामान्य बदली भएर हल्का पानी पर्न सक्छ,’ पोखरेलले भनिन्, ‘तर बाढीपहिरै जाने गरी ठूलो वर्षाको संभावना भने देखिँदैन।’
महाशाखाको पूर्वानुमान यस्तो छ
श्रावण २ गते (बिहीबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
रातीः देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
श्रावण ३ गते (शुक्रबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
रातीः देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया