छापा खबर


सरकार-विप्लव वार्ताः अनौपचारिक संवाद तीव्र

सरकार-विप्लव वार्ताः अनौपचारिक संवाद तीव्र

नेपालखबर
साउन २, २०७६ बिहिबार १:७,

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ। तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन्।

दुवै पक्षले अनौपचारिक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारिक पत्र’ मा गएर अड्किएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

विप्लव पक्षले सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न तयार रहेको बताए पनि सरकारले पत्र लेखिहाल्ने संकेत देखाएको छैन । गत फागुन २ मा सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो।

त्यसपछिको चार महिना अवधिमा आन्तरिक र मुठभेडका नाममा ८ जना विप्लवका नेताकार्यकर्ता र १ प्रहरीको ज्यान गएको छ।

विप्लवलाई वार्तामा ल्याउन नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले अलगअलग तीन थरी टिम परिचालन गरेका छन्। उनीहरुले विप्लवका विभिन्न स्तरका नेताहरुसँग अनौपचारिक संवाद गरे पनि वार्ताका लागि ठोस बाटो पहिल्याउन सकेका छैनन्।

विप्लवको पार्टीले गत पुसको स्थायी समिति बैठकबाटै सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न सकिने निर्णय गरेको थियो । त्यो निर्णयबाट पार्टी दायाँबायाँ नलागेको एक पोलिटब्युरो सदस्यले बताए।

सभामुख महराको रणनीतिक ‘मुभ’
सभामुख कृष्णबहादुर महरा विप्लवका केही नेताहरुसँग नियमित सम्पर्कमा छन्। उनले सुरुमा आफ्नै गाडीमा विप्लवका केही नेतालाई राखेर नेकपाका वरिष्ठ नेता माधव नेपालसँग भेट गराएका थिए।

त्यसपछि नै नेपालले सरकारले जिम्मा दिए आफू वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेका थिए।

विप्लव पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रक्राउ पर्दा शीर्षस्थ नेताको समेत हत्या योजना बनाएको डायरीमा त्यसमा आफ्नो नाम रहेको थाहा पाएपछि दाहाल रिसाएका थिए। सोही कारण महराले नेकपा अध्यक्ष दाहालसँग विप्लवका नेताहरुलाई सम्पर्कमा लगेनन्।

नेकपा स्थायी समिति सदस्यसमेत रहेका सांसद जर्नादन शर्मा अध्यक्ष दाहालकै सल्लाहमा वार्ताको वातावरण बनाउन लागिपरेका छन्।

उनले पनि प्रकाण्डलगायत नेतासँग प्रत्यक्ष संवाद गरिसकेका छन् । वार्ताको वातावरण बनाउन शर्माले सरकार र आफ्नै पार्टी नेतृत्वमाथि पनि दबाब दिइरहेका छन्।

उनले प्रहरी हिरासतमै पहिले एकै पार्टीमा रहँदा ‘दुस्मनी सम्बन्ध’ भएका गृहजिल्ला रुकुमका विप्लवका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सम्मलाई पनि भेट गर्न पुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad