समाज


नारायणीको बहाव ४४ वर्षयताकै उच्च

नारायणीको बहाव ४४ वर्षयताकै उच्च

नेपालखबर
साउन ६, २०७७ मंगलबार ७:३१,

नारायणी नदीको बहाव मंगलबार बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ।

बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो।

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो। यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिए। त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो। सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ। सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो।

जलस्रोतविज्ञ रायले भने, ‘४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव आज बिहान सबैभन्दा उच्च भएको देखिन्छ।’ जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशी पनि नारायणी नदीले खतराको तह नाघेको बताए। नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ। यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ।

जलविज्ञ श्रेष्ठले आज पाँचदेखि सात घण्टा पानीको बहाव यही अवस्थामा रहने र भोलिबाट क्रमशः घट्दै जाने उनको भनाइ छ। पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन शुरु भएको थियो। गएको जाडो मौसम र प्रि–मनसुनको समयमा औषतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको बहाव बढ्न गएको छ। कतिपय ठाउँमा पहिरो गई नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उनको भनाइ छ।

नारायणी नदीमा मस्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन्। मुग्लिनमा त्रिशूलीमा मस्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो। यी ठूला नदीहरुमा प्रसस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन्।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्कीमा ११८ दशमलव ७ मिलिलिटर र गोर्खामा १४५ दशमलव ८ मिलिलिटर पानी मापन गरिएको थियो। त्यस क्षेत्रमा पानी बढी परेका कारण नारायणी नदीको बहाव उच्च भएको हो। नदी बढेसँगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तीमा पानी पसेपछि सोमबार साँझबाटै केही बस्तीलाई स्थानान्तरण गरिएको छ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाइएको बाँधका कारण नदीको पानी बस्तीमा पस्नबाट धेरै हदसम्म जोगिएको स्थानीय बताउँछन्। नारायणीमा मिसिएको त्रिशूलीको बहाव उच्च भएर कटान गर्दा इच्छाकामनाको फिस्लिङमा दुई तले घरसहित तीन घर बगाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad