समाज


तनहुँमा चितुवा आतंक : एक वर्षमा ६ जना बालबालिकाको मृत्यु, ६ वटा चितुवा पनि मरे

तनहुँमा चितुवा आतंक : एक वर्षमा ६ जना बालबालिकाको मृत्यु, ६ वटा चितुवा पनि मरे

नेपालखबर
साउन ४, २०७७ आइतबार ३:१८,

आर्थिक वर्ष ०७६/०७७ मा तनहुँका चितुवाको आक्रमणमा परि ६ बालबालिकाको मृत्यु भएको छ। यस अवधिमा तनहुँका विभिन्न स्थानमा गरी एउटा बच्चासहित ६ वटा चितुवा मरेका छन्।

एक वर्षमा आठ चितुवाको जीवितै उद्धार गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको हो। भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एउटा आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

त्यसैगरी एक वर्षमा चार वटा रतुवा मृग र एउटा अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक/एक रतुवा मृग तथा बन्दिपुरमा एएटा अजिङ्गर फेला परेको हो।

चितुवाको आक्रमणमा ६ को मृत्यु
तनहुँका विभिन्न ठाउँमा गरी एक वर्षको अवधिमा चितुवाको आक्रमणमा परी छ बालबालिकाको मृत्यु भएको छ । सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी छ जनाको मृत्यु भएको हो। चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएका छन्। उपचारपश्चात उनीहरु घर फर्किसकेका छन्।

नेपाल सरकारले चितुवाबाट मृत्यु हुनेका परिवारलाई १० लाखका दरले र घाइतेलाई दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले बताए। वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनको भनाई छ।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना बनाइएको छ।

५९ वटा पशुमाथि चितुवाको आक्रमण
डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ।

भेडा-बाख्रा ३६ वटा, गाई आठ, सुगुँर-बँगुर छ र भैँसी दुईवटा चितुवाको आक्रमणमा परेका हुन्। पशु क्षतिमा परेका परिवारलाई दुई लाख १८ हजार पाँच सय राहत वितरण गरिएको वन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad