गएको एक सातामा कोरोना संक्रमणको कारण खाडीका विभिन्न देशमा गरी १६ जना नेपालीले ज्यान गुमाएका छन्।
कतार, कुवेत र यूएईमा गरी एक हप्तामा १६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
संघको स्वास्थ्य समितिका अनुसार गएको साता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीले कोरोना संक्रमणको कारण ज्यान गुमाएका हुन्।
संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार कतारमा ज्यान गुमाउने आठमध्ये दुई जनाको मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो भने बाँकी ६ जनाको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।
हालसम्म विश्वका विभिन्न १४ देशमा गरी एक सय ६० जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको एनआरएनएले जनाएको छ।
संघका अनुसार अहिलेसम्म विदेशमा रहेका ३० हजार ५ सय ७१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २८ हजार ६ सय ८१ जना उपचारपछि निको भइसकेका छन्।
Shares

प्रतिक्रिया