समाज


काठमाडौंसहित धेरै स्थानमा १२ घण्टादेखि लगातार वर्षा, आज रातिबाट अझ बढ्ने सम्भावना

काठमाडौंसहित धेरै स्थानमा १२ घण्टादेखि लगातार वर्षा, आज रातिबाट अझ बढ्ने सम्भावना

नेपालखबर
साउन ४, २०७७ आइतबार १:८,

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा झन्डै १२ घण्टादेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘यो क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर थामिए पनि पुनः वर्षा हुने सम्भावना छ।’

दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। राति पनि यो क्रम जारी रहने जनाइएको छ।

‘मनसुन सक्रिय हुँदै गएको छ,’ मौसमविद् पौडेलले भने, ‘यसअघि बिहान एक–दुई घण्टा घाम पनि लाग्ने गरेको थियो भने अब बिहानैदेखि वर्षा हुने हुन्छ, दिउँसो केहीबेर रोकिए पनि वर्षा भइरहन्छ, अझ कतिपय ठाउँमा रोकिँदै नरोकिने पनि हुन सक्छ।’

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सम्बन्धित निकायले आज साउन ४ गतेदेखि ८ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुराेध गर्दै केही दिनदेखि नै सूचना जारी गरिरहेका छन्।

याे पनिआइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)

‘अब दुई–तीन दिन लगातार खालको वर्षा हुने सम्भावना छ, जसले बाढी, पहिरो, डुबानको जोखिम अझ बढ्छ,’ मौसमविद् पौडेलले भने, ‘यो क्रम एक हप्ता पनि जान सक्छ, हामी हरेक दिन यसबारे सूचना दिने नै छौं।’

मौसविद्का अनुसार नेपालदेखि केही दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा आज रातिदेखि उत्तरतर्फ सर्ने अर्थात् नेपालतर्फ नजिकिने भएकाले चार–पाँच दिन देशभर लगातार र अलि ठूलै वर्षा हुने भएको हो।

माैसम पूर्वानुमान महाशाखाले  आइतबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान जस्ताकाे तस्तै:
साउन ४ गते आइतबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ५ गते सोमबार
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ६ गते मंगलबार
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

याे पनि‘नवलपरासीमा बिहानैदेखि बाढीको खतरा, १० बजेसम्म सतर्क रहौं’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad