नारायणहिटी दरबार संग्रहालयले संग्रहालयभित्र हिटलरको गाडी रङ्गरोगन शुरु गरेको छ।
नारायणहिटी संग्रहालय खुलेलगत्तै सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी हिटलरको कार रङ्गरोगन सुरु गरिएको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।
लामो समयदेखि देखाउने तयारी गरेपनि विभिन्न कारणले रोकिएको हिटलरले उपहार दिएको कार बल्ल रङरोगन गरेको हो । करिब पाँच लाख रुपियाँ खर्च गरी कार मर्मत र रङ्गरोगन गरिएको हो।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले संग्रहालयमा वर्षौं पुरानो सो कार मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भएको बताए।
संग्रहालयमा बेलायती महारानीले उपहार दिएको बग्गी, राजा वीरेन्द्र, दीपेन्द्र, ऐश्वर्य, श्रुति र निराजनले प्रयोग गरेका पुराना सवारी साधन प्रदर्शनीमा राख्ने तयारी भैरहेको छ।
सो बग्गी बेलायत र नेपालमा मात्र छ । त्यससंँगै राजा त्रिभुवन पछिका राजपरिवारका सबै सवारीसाधन प्रदर्शनीमा राख्ने व्यवस्था गरिएको दाहालको भनाइ छ । उनका अनुसार ती सवारी साधन प्रदर्शनीमा राख्ने बारेमा केही परामर्श बाँकी छ।
संग्रहालय प्रशासनले करिब ६ वर्षदेखि प्रदर्शन गर्ने तयारी रहेको राजा वीरेन्द्रको भवन श्रीसदन पनि खुला हुने भएको छ। त्यसको लागि थप २६ वटा सिसिभिटी जडान गरिएको उनले बताए। ‘एक महिनाभित्र हिटलरको कार, श्रीसदन, राजा त्रिभुवनको पालादेखिको सबै सवारी साधन प्रदर्शनीमा राख्ने तयारी गरेका हौं’, कार्यकारी निर्देशक दाहालले भने।
सरकारले नारायणहिटी दरबार २०६५ फागुन १५ गतेदेखि संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला गरेको छ । ७ सय ५३ रोपनी क्षेत्रफलमा पैmलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले दर्जन भन्दा बढी संरचना निर्माण गरिसकेको छ। सोही जग्गामा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको छ । हाल नारायणहिटी सग्रहालय तीन सय १८ रोपनी क्षेत्रफलमा सीमित छ।
राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको पालामा निर्माण भएको नारायणहिटी दरबार १९९० सालमा भूकम्पले क्षति पु¥याएको थियो । राणा प्रधानमन्त्री वीर शम्सेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो।
अहिलेसम्म राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटी दरबारको सबै कक्ष खुला भएको छैन। अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटलगायतका सामग्री प्रदर्शनीमा राखिएको छ।

प्रतिक्रिया