ad ad

समाज


ट्राफिक प्रहरीको सिर्जनात्मक कार्यक्रम, लकडाउन सम्बन्धी निबन्ध लेखन प्रतियोगिता

ट्राफिक प्रहरीको सिर्जनात्मक कार्यक्रम, लकडाउन सम्बन्धी निबन्ध लेखन प्रतियोगिता

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:१२,

ट्राफिक प्रहरीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई आज एक कार्यक्रम गरी पुरस्कृत गरिएको हो ।

बन्दाबन्दीको समयमा ट्राफिक प्रहरी २४ सै घण्टा ड्युटीमा खटिएको भएता पनि आफ्नो ड्युटीबाहेकको खाली समयलाई सदुपयोग गर्न, सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकहरूलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायहरूको चिन्तन मनन गर्नका लागि निबन्ध प्रतियोगिता आयोजना गरिएको महाशाखाले जनाएकाे छ।

प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगन्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्ट प्रथम भएका छन्। उनले प्रथम पुरस्कार बापत ४ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे। यसैगरी दोस्रो हुने प्रहरी नायब निरीक्षक शम्भु सुस्केराले तीन हजार, तृतीय प्रहरी जवान प्रकाश ढकालले दुई हजार, चौथो प्रहरी सहायक निरीक्षक विष्णु प्रसाद न्यौपाने र पाचौँ प्रसनि गोपाल तामाङले रु एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेश कलेजका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा काठमाडौं उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए। निबन्ध प्रतियोगिताका छनोट तथा मूल्यांकन सेन्ट जेभियर्सका अध्यापक खेम प्रसाईले गरेका थिए।

विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन भएसँगै ट्राफिक प्रहरीले आफ्नो ड्यूटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरु, ट्राफिक प्रहरीको कर्तव्य र नागरिक मैत्री व्यवहार लगायतका विषय समेटी ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका ट्राफिक प्रहरीहरूबीच गत २०७६ चैत २४ गतेदेखि चैत २९ गतेसम्म निबन्ध लेखनको लागि समय दिइएको महाशाखाका प्रमुख ढकालले जानकारी दिए।

निबन्ध नितान्त गैह्र राजनैतिक, चेतनामूलक, सामाजिक सद्‍भाव बढाउने, सांगठानिक मर्यादा भित्र रही सकारात्मक र मौलिक रूपमा लेख्न लगाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत्तम बताए।

उनले कोरोना भाइरस संक्रमण तथा यसबाट बच्ने उपायहरु, कोरोना भाइरस संक्रमणको समयमा ट्राफिक प्रहरीको कर्तव्य र जिम्मेवारी, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिदा ट्राफिक प्रहरीको आचरण र नागरिक मैत्री व्यवहार, ट्राफिक प्रहरीले कोरोना भाइरस संक्रमणको अवधिमा समाजमा देखिएका समस्या र समाधानका उपायहरु र कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको अवधिमा भएको आफ्नो अनुभव यी ५ वटा शीर्षकमध्ये कुनै एक शिर्षकमा निबन्ध लेखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .