समाज


‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

प्रकाश मिश्र
साउन १, २०७७ बिहिबार ८:२२,

चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतंकित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो।

जब चैत ११ गतेदेखि बन्दाबन्दी लागू भयो तब देशभर एक किसिमको कोरोना आतंक छायो। शुरुआती चरणमा घरबाट मानिस निस्कनका लागि कल्पनासमेत गर्न डराउने स्थिति थियो। म सुदूरपश्चिमको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडीमा बसेर आफ्नो पत्रकारिता गरिरहेको छु। म, श्रीमती र पाँच वर्षको छोरासँग घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा बस्छु। मेरो कर्म समाचार जनतामाझ पु¥याउनु थियो। चाहे जस्तोसुकै परिस्थिति आओस् म आफ्नो कर्ममा निरन्तर लागेर जनतालाई सूचना दिनुपर्छ भन्ने उद्देश्यले शुरुदेखि नै निरन्तर फिल्डमा खटिरहेँ। मैले अझ बढी समाचार खोज्नुपर्ने र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोरोनासँग लड्ने राष्ट्रिय अभियानमा फ्रन्टलाइनमै रहेर कर्म निर्वाह गर्ने प्रण गरेँ।

समाचार संकलनका क्रममा कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मीको मेहनत, स्थानीय तहका जनप्रतिनिधिको खटनपटन, विभिन्न स्थानमा युवा क्लबका युवाको सक्रियता त थियो नै तर सबैभन्दा बढी फ्रन्टलाइनमा विनास्वास्थ्य सामग्री यहाँसम्म कि मास्क र पञ्जाविना नेपाल प्रहरीको सक्रियता साँच्चिकै प्रशंसायोग्य पाएँ। तिनले राज्यको समाचार समितिको प्रतिनिधि हुनाको नाताले ठाउँठाउँमा सहज पहुँच दिलाउनाका साथै कतिपय अवस्थामा आफैँ तिनको सवारी साधनमा ल्याउने लैजानेसम्मका काम गरी मलाई सहयोग गरे। राससले सत्य, तथ्य र विश्वसनीय समाचार दिन्छ भन्ने विश्वास सुरक्षा निकाय र सम्बन्धित सबैमा परेको कुरा यस अवधिमा राम्रैसँग अनुभव भयो।

जब बागलुङकी एक किशोरी, जो फ्रान्सबाट आएकी थिइन्, लाई कोरोना देखियो तब सुदूरपश्चिमका जनतामा भयानक त्रास हुने अवस्थाकै चरणमा युएईबाट आएका धनगढीका एक युवकमा कोरोना देखियो भन्दा म कार्यरत कैलाली जिल्ला नै आतंकित भयो। अब कोही बाँच्दैनौँ भन्ने लाग्न थाल्यो। घरमा सानो छोरा भएका कारण श्रीमती घर बाहिर नगए हुन्थ्यो भन्ने चाहन्थिन् तर कतिपय फिल्ड रिपोर्टिङमा नगई नहुने भएका कारण म जानैपर्ने थियो। यस क्रममा आफ्नै गृह जिल्लामा कोरोना देखिएपछि पारिवारिक दबाब पनि अलिकति थियो नै। म सुरक्षित भएर नै रिपोर्टिङ गरिरहेको थिएँ। काठमाडौँपछि मोफसलमा त्यो पनि कैलालीमा संक्रमित भेटिएपछि कैलाली उच्च जोखिमयुक्त जिल्ला बन्यो अनि हामी उच्च जोखिम जिल्लाका पत्रकार।

कैलालीमा एकपछि अर्को संक्रमित देखिन थाले। युएईबाट फर्किएका धनगढीका युवकका भाउज्यूलाई पनि कोरोना देखियो। झनै त्रास बढ्यो। त्यसपछि वीरगञ्जबाट आएकी महिलालाई कोरोना देखिएपछि कैलालीको वातावरण त्रसित बन्यो। त्यसको केही दिनमै भारतबाट फर्किएका एक युवकलाई कोरोना देखिएपछि कैलालीमा चहलपहल शून्यको स्थितिमा झ¥यो भन्दा फरक नपर्ला।

कोरोना संक्रमण बढिरहेको थियो, सबै त्रसित थिए। तर, भारतबाट फर्किएका लम्कीचुहाका युवकले कोरोनालाई पराजित गरे भन्ने खबर वैशाख ८ गते प्राप्त भएपछि कोरोना त्रासले बाँचिरहेका सबैका लागि अलिकति भए पनि खुशी मिल्यो। मेरा लागि भने जनतामा कोरोना त्रास हटाउन कलम चलाउने अवसर थियो जसको मैले सदुपयोग गरेँ। वैशाख ८ गते घर फर्किएका युवकको घरमै पुगेर मैले रिर्पोटिङ गर्नुपर्छ भन्ने सोचेर तयारी गरेँ। मैले कोरोना कहरका बेला घरमै बसेर आफूलाई मात्र सुरक्षित राख्नु उचित ठानिनँ। म वैशाख १० गते आफू बसिरहेको घोडाघोडी नगरपालिका सुखडबाट कोरोनाको त्रासका बीच लकडाउनमा सुनसान र सन्नाटापूर्ण सडकमा सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना विजेताको अनुभव तथा रोगलाई पराजित कसरी गर्न सकिन्छ भनी सोच्दै पत्रकारिताको कर्म निर्वाहका लागि मोटरसाइकलमा करिब ३५ किलोमिटर दौडिएँ। फिल्ड रिपोर्टिङमा हिँड्नैपर्ने मेरो दिनचर्या लकडाउनको दुई महिना बितिसक्दा समेत खुम्चिएन, बरु अझ विस्तारित भयो। सकेसम्म संक्रमणको जोखिमबाट जोगिएर मैले यो विषम परिस्थितिमा आफूलाई कहीँ कतै कमजोर, डरपोक र दायित्वच्यूत हुन दिइनँ।

जब म कोरोना जितेका पहिलो व्यक्तिको घरबाट रिर्पोटिङ गरेर फर्किएँ, समाचार प्रकाशन भयो, पत्रकारिता क्षेत्रका अग्रज तथा मित्रहरूले साहस गर्नुभयो भन्दै दिएको बधाई थापिरहेको मलाई मेरो पाँचवर्षे छोराले ‘बाबा तपाईँले त कोरोना लागेको मान्छेलाई भेटेर आउनुभएको रे, अब हामीलाई नि सार्नुहुन्छ रे, हामी पनि मर्छौँ रे’ भन्दा जति नमीठो अनुभव शायद जिन्दगीमा अहिलेसम्म भएको थिएन। मेरो पत्रकारिताको अनुभवमा मैले यसलाई निकै पीडादायी अनुभवका रूपमा लिएँ। मैले छोराको यो त्रासपूर्ण प्रेम आभास दिलाउने प्रश्नको छोटो उत्तर दिएँ ‘हैन बाबु त्यस्तो बोल्नु हुँदैन।’ अनि फेरि निस्किएँ समाचारका खोजीमा।

कोरोना नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले सबै क्षेत्र बन्द थिए, सबै वर्ग समस्यामा थिए तर सबैभन्दा बढी प्रभावित थिए यौन व्यवसायलाई मुख्य पेशा बनाएर जीवन निर्वाह गरिरहेको कैलालीका बादी समुदाय। म उनीहरूको समस्या समाचारमार्फत सम्बन्धित निकायसम्म पु¥याउन फेरि पनि लकडाउनका बीच बादी समुदायको बस्तीमा हान्निएँ। राष्ट्रिय समाचार समिति (रासस) मा ‘बादी समुदायलाई कोरोनाभन्दा भोकको चिन्ता’ भन्ने समाचार पठाएँ। समाचार प्रकाशन भएपछि श्रीमतीका साथी तथा छिमेकीले ‘तेरो श्रीमान् पत्रकार भएर चारैतिर डुल्छ, पूर्वतिरका पत्रकारहरूलाई कोरोना लागिसक्या छ, सम्झाउनू’ भनेर भनेका रहेछन्। उनले मलाई अलि सुरक्षित भएर काम गर्न आग्रह गरिन्। छोरा र श्रीमतीले सुनाएको कुराले केही समय कलमलाई थाती राखेर पारिवारिक रूपमा रमाएर बसौँ कि झैँ लागे पनि सामाजिक जिम्मेवारी र पत्रकारिताको धर्म निर्वाह आफ्नो प्रमुख जिम्मेवारी रहेको कुरा बोध गरी सुरक्षित रहँदै समुदायमा सूचना पु¥याउने कर्ममा निरन्तर लागिरहेँ।

त्रासपूर्ण बातावरका बीच कोरोना कहरमा बादी समुदायको बिचल्लीबारे गरिएको रिपोर्टिङबाट प्रभावित भई स्विट्जरल्यान्डमा बस्ने शुभएल्मर लामाले खाद्य पदार्थ सहयोग गर्दा मलाई मनमा शान्ति मिल्यो। विभिन्न समस्या र कोरोनाको आतंकबीच गरिएको समाचार कर्मले कसैको घरमा चुल्हो बल्न पाएकामा आँखाबाट खुशीका आँशु निस्किए, मैले मन थाम्नै सकिनँ। त्यसभन्दा पनि म आफैँ खाद्यान्न लगेर बादी समुदायमा जाँदा पाएको आत्मीयता र सम्मानले निरन्तर कर्ममा खटिरहन प्रेरणा मिल्यो। म अहिले पनि कोरोना कहरका विषयमा समाचार संकलन र प्रकाशन गरिरहेको छु तर पहिले जस्तो हैन। पहिले कोरोना लागेकाहरू समाचार बन्ने गर्थे भने अहिले कोरोना जितेर घर फर्किएकाहरू अवहेलनामा परेको भनी समाचार लेख्नुपर्ने बाध्यता छ।

पछिल्लो समय लक्षण नदेखिएको भनी कोरोना लागेकाहरूलाई आइसोलेसनबाट सोझै घर पठाउँदा समुदायस्तरमा अझै जोखिम बढेको छ। गाउँघरमा मानिसहरू आतंकित भइरहेका छन्। जनप्रतिनिधि पनि समुदायमा जनचेतना फैलाउन सक्रिय छन्। जोखिम मोलेरै अहिले पनि निरन्तर समाचार कर्ममा सक्रिय छु तर पत्नी र पुत्रका ती प्रश्नले मनलाई झस्काउन भने छाडेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad