समाज


सप्तरीमा सँगै बसेर रक्सी सेवनपछि एक युवकको हत्या, सात जना पक्राउ

सप्तरीमा सँगै बसेर रक्सी सेवनपछि एक युवकको हत्या, सात जना पक्राउ

नेपालखबर
साउन १, २०७७ बिहिबार ३:१६,

सप्तरीको शम्भुनाथ नगरपालिकामा एक जनाको हत्या भएको छ।

शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको हो। हत्यामा संलग्न भएको आरोपमा सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन।

हत्याको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका–३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेलापरेको थियो। शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालिएको प्रहरी निरीक्षक कार्कीले बताए।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा राम र स्थानीय रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो। छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो।

छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका रामले आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका–३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए । सोही बेलादेखि राम बेपत्ता थिए।

अर्को तर्फ २०७४ फागुन २७ गतेको सामूहिक बलात्कारको घटनामा रामको उजुरीका आधारमा गाउँका चार जना कारागारमा छन् । उनीहरुलाई जनही १० वर्ष कैद सजायको फैसला भएको छ । अन्य दुई जनाको हकमा मुद्दा मुल्तबीमा छ।

प्रहरीले जग्गा विवादका पक्ष, बलात्कारको मुद्दामा कैदमा परेका पक्ष र सँगै रक्सी खाएका साथीलाई अनुसन्धानको दायरामा लिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad