सलहका थप झुण्ड पनि नेपाल आउने तयारीमा रहेको विज्ञहरुले बताएका छन्। झण्डै १२ लाखको संख्यामा सलहको एउटा झुण्ड आइतबार नेपाल प्रवेश गरेको थियो।
आइतबार दाङहुँदै नेपाल प्रवेश गरेको सलहको झुण्ड अहिले प्युठान, अर्घाखाँचीसम्म पुगेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
‘आज वा भोलासम्म दाङ, रुपन्देही, कपिलबस्तु, जनकपुर लगायतका ठाउँबाट सलहका विभिन्न झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना छ,’ केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार बिहान नेपालखबरसँग भने, ‘नेपाली भूमि नजिकै भारतीय क्षेत्रमा ठूलो संख्यामा सलह बसेका छन्। हावाको गति अनुकूल भयो भने ती आउने नेपालतिरै हो।’
उनले हावाको बहाव दक्षिणबाट पूर्वोत्तर दिशातिर बगेकोले राजस्थानबाट अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने संभावना बलियो रहेको बताए। ‘प्रदेश १, २ र ५ का तराइका जिल्ला हुँदै अरु झुण्ड पनि नेपाल प्रवेश गर्ने सम्भावना छ,’ सुवेदीले भने।
यसअघि दुई साता अघि पनि सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको थियो। तर, वातावरण प्रतिकूल हुँदा यसअघि प्रवेश गरेको सलह केही भागेका छन्। केही निस्क्रिय भएका केही आफैँ मरेर सकिएका केन्द्रले जनाएको छ।
आइतबार आएको सलहको नयाँ झुण्ड भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको हो। केन्द्रले यसअघि नै सलहको झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराएको थियो।
आइतबार बिहान र दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका थिए।
‘सलहको त्यो झुण्ड अहिले प्यूठान, अर्घाखाँची लगायतका जिल्लासम्म पुगेका छन्,’ प्रवक्ता सुवेदीले सोमबार बिहान नेपालखबरसँग भने, ‘आइतबार आएको सलहको झुण्ड १० देखि १२ लाखको संख्यामा छ। तर, अहिलेसम्म त्यसले बालीनाली खाएको सूचना आएको छैन।’
हावा चलेन, पानी परेन र घाम लाग्यो भने जतिबेला पनि त्यसले नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउने र पूर्वतयारीमा रहन उनले आग्रह गरे। सलहको थप झुण्डसमेत प्रवेश गर्ने संभावना रहेको उनले बताए।
सुवेदीका अनुसार दुई साताअघि नेपाल आएको सलहको झुण्ड भन्दा हिजो नेपाल प्रवेश गरेका र अब प्रवेश गर्ने तयारीमा रहेका झुण्डको संख्या सानो छ। ‘त्यतिबेला ७०/८० लाखको संख्यामा आएका थिए, तर हिजो आएको र अब आउने सम्भावना रहेको झुण्ड सानो छ’ उनले भने।
दुई साताअघि आएको सलहको सानो समूह अझै पश्चिमी पहाडी क्षेत्रमा कतिपय ठाउँमा बसिरहेका छन्। ती २४ हजारको संख्यामा मात्रै छन्। यसअघि आएको सलहले मौसम प्रतिकूल हुँदा त्यसले सोचेजति क्षति गर्न नपाएको सुवेदीले बताए।
‘पानी पर्दा सलहले बालीनाली खाँदैन। घमाइलो मौसम भयो भने मात्र क्षति गर्छ,’ उनले भने, ‘सलह भाग्नलाई घाम लाग्नु र हावा चल्नुपर्छ। पानी परेको बेलामा लुकेर बस्छ। त्यसरी बस्दा आफैँ मरेर सकिन्छन्।’

प्रतिक्रिया