छापा खबर


सहसचिवले नै ३२ बिघा जग्गाको नक्कली धनी खडा गरेकाे अख्तियारकाे ठहर

सहसचिवले नै ३२ बिघा जग्गाको नक्कली धनी खडा गरेकाे अख्तियारकाे ठहर

नेपालखबर
असार २९, २०७७ सोमबार १:५०,

नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उक्त घटना हुँदा ज्ञवाली नवलपरासीका प्रमुख मालपोत अधिकृत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

अभियुक्तविरुद्ध ५ करोड ५ लाख ४२ हजार बिगो कायम गरिएको छ । नवलपरासीको साबिक सनई गाविस–८ ख कित्ता नम्बर १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्‍ने व्यहोराको उजुरी अख्तियारमा परेको थियो।

त्यसउपर अनुसन्धान हुँदा अभियुक्तहरूले भ्रष्टाचार गरेको देखिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए।

भूमिसुधार, मालपोत नवलपरासीका कर्मचारीसहित स्थानीय निकायबाट सिफारिस दिने कर्मचारी र स्थानीयलाई पनि भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको प्रमाणित हुन आएकाले उनीहरूविरुद्ध सजायको मागदाबी गरिएको अख्तियारले गरेको छ।

तत्कालीन प्रमुख मालपोत अधिकृत ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थीलाई प्रतिवादी बनाइएको छ । तत्कालीन नायबसुब्बाहरू बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदारहरू नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुलीविरुद्ध अख्तिारले मुद्दा चलाएको छ।

ज्ञवाली, कलवार, पन्थी, नायबसुब्बाद्वय श्रेष्ठ र तिवारी, कम्प्युटर अपरेटर खड्का, खरिदारद्वय चौधरी र पराजुलीलाई ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ।

अख्तियारले ३ जना तत्कालीन गाविस सचिवविरुद्ध पनि मुद्दा चलाएको छ । नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहारलाई प्रतिवादी बनाएर २ वर्ष कैद सजाय माग गरिएको छ । गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad